एघार महिनामा १६ खर्बको व्यापार घाटा, आयातमा कडाइको प्रभाव देखिएन

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा (साउनदेखि जेठसम्म) नेपालले करिब १६ खर्बको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठसम्मको तथ्याङ्कअनुसार एघार महिनाको अवधिमा नेपालको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड पुगेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा १२ खर्ब ६२ अर्ब ११ करोड बराबर व्यापार घाटा रहेको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा २५ प्रतिशतले व्यापार घाटा बढेको हो । विभागको तथ्याङ्क अनुसार एघार महिनाको अवधिमा नेपालले १९ खर्ब ४९ अर्ब बराबरको वैदेशिक व्यापार गरेको छ ।

विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै नेपाल राष्ट्र बैंक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा कडाइ गरे पनि त्यसको प्रभावले आयातलाई घटाउन सकेन । राष्ट्र बैंकले दुई पटक सूचना जारी गरेर विभिन्न वस्तुको आयातमा कडाइ र उद्योग मन्त्रालयले विभिन्न दश वस्तुको सूचि राजपत्रमा प्रकाशन गरेर प्रतिबन्ध नै लगाए पनि अझै आयातमा कमी आउन नसकेको हो ।

मङ्गलबार भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकका अनुसार आयात गत आवको तुलनामा २७.५ प्रतिशतले बृद्धि भएको हो ।

चालु आवको ११ महिनाको अवधिमा नेपालले विभिन्न देशबाट १७ खर्ब ६३ अर्ब २२ करोड रुपियाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । गत आर्थिक वर्षकोे सोही अवधिमा नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबरको आयात गरेको थियो ।

आयातसँगै राजश्वमा पनि बृद्धि भएको छ । विभागको तथ्याङ्क अनुसार गत वैशाख महिनामा राजश्व संकलनमा कमी आएकोमा जेठ महिनामा राजश्व संकलन बृद्धि भएको हो । गत बैशाखसम्म ३४ अर्ब ३५ करोड ८ लाख ४४ हजार रुपियाँ राजश्व संकलन भएकोमा जेठ महिनामा ४१ अर्ब १८ करोड ५३ लाख ६३ हजार रुपियाँ संकलन भएको छ । एक महिनामा राजश्व संकलन १९‍.२ प्रतिशतले बढेको छ ।

गत वैशाख महिनाको तुलनामा जेठ महिनामा मात्रै छ अर्ब ८३ करोड ४५ लाख १९ हजार रुपियाँ संकलन भएको हो । फागुन महिनामा मात्रै ३९ अर्ब ३३ करोड रुपैयाँ बराबरको राजश्व संकलन भएकोमा चैत महिनामा ३८ अर्ब २४ करोड ६० लाख ६५ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो ।

गत महिनाको तुलनामा चैत महिनामा एक अर्ब ८ करोड ४१ लाख २१ हजार रुपियाँले राजश्व संकलनमा कमी आएको हो । गत माघ महिनामा ३६ अर्ब सात करोड र गत पुस महिनामा ४० अर्ब २७ करोड रुपियाँ बराबरको राजश्व संकलन भएको थियो ।

यसैगरी नेपालले चालु आर्थिक वर्षको ११ महिनामा १ खर्ब ८५ अर्ब ८३ करोड रुपियाँ बराबरको स्वदेशी वस्तुको निर्यात गरेको छ । गत आवको सोही अवधिमा एक खर्ब २१ अर्ब २५ करोड रुपियाँ बराबरको निर्यात भएको थियो । गत आवको तुलनामा चालु आवमा ५३.३ प्रतिशतले निर्यातमा बृद्धि भएको हो ।

यस्तै, भन्सार विभागका अनुसार निर्यात पनि हाल सम्मकै उच्च देखिएको छ । ११ महिनाको तथ्याङ्क अनुसार कुल ११ महिनामा एक खर्ब ८५ अर्ब रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । जुन हालसम्मकै उच्च हो । अघिल्लो आवको सोही अवधिको तुलनामा निर्यात ५३.३ प्रतिशतले बढी हो ।


SHARE THIS