काठमाडौँ । सार्वजनिक यातायातको भाडा बढेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सोमबारदेखि लागू हुनेगरी गाडी भाडा बढाएको हो ।
विभागले अन्तरप्रदेश यात्रुवाहक तथा मालवाहक गाडीमा अधिकतम ७ दशमलव ७ प्रतिशतसम्म भाडा बढाएको हो ।
यात्रुवाहक सार्वजनिक सवारीसाधनमा ५ दशमलव ३० प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६ दशमलव ९४ तथा तराईको बाटोमा चल्ने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरेको छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत् रहने विभागले जनाएको छ ।
नेपाल आयल निगमले आइतबार राति पेट्रोल लिटरको २१ रुपियाँ र डिजल २७ रुपियाँ बढाएसँगै स्वचालित रूपमा सवारीसाधनको भाडा पनि बढेको हो । मूल्य बढेसँगै पेट्रोल १९९ रुपियाँ लिटर र डिजेल प्रतिलिटर १९२ रुपियाँ पुगेको छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य लगातार बढेसँगै सवारीसाधनको भाडा पनि बढ्दै गएको हो ।
बढेको भाडा दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रिय रुटमा लागू हुनेछ । स्थानीय रुटमा सञ्चालन हुने रुटका लागि प्रदेश सरकारले निर्णय गर्नुपर्छ ।
इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा बढ्ने वा घट्ने हुन्छ ।