१२ बुँदे साझा घोषणा पत्र जारी गर्दै चौंथो साकोस शिखर सम्मेलन सम्पन्न (घोषणा पत्र सहित)

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा काठमाडौंमा जारी दुई दिने चौंथो साकोस शिखर गोष्ठी २०७९ सम्पन्न भएको छ ।

आइतबारदेखि सुरु भएको गोष्ठीमा देशभरका करिब ७५० जना सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो । नेपाल सरकारको समेत सह-आयोजना भएको गोष्ठीले १२ बुँदे घोषणपत्र जारी गर्दै समापन भएको हो ।

बचत तथा ऋण सहकारी संस्था (साकोस) मार्फत मर्यादित श्रम सिर्जना, गरिबी न्यूनीकरण र स्वरोजगारी सिर्जना गरी समृद्ध एवं आत्मनिर्भर मुलुक निर्माणका लागि उच्च संकल्पसहित यो १२ बुँदे साझा घोषणापत्र गोष्ठीले जारी गरेको छ ।

‘िदगो एवम् एकीकृत सञ्जालका लागि नविनतम् साझा प्रविधि’ मूल भाव र संकल्पका साथ आयोजित गोष्ठीमा पाँच वटा सामुहिक र चार वटा ब्रेकआउट सत्रमा सञ्चालन भएको थियो । आइतबार शिखर गोष्ठीको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँडले गर्नुभएको थियो ।

सहकारी ऐन २०७४ ले व्यवस्था गरेका कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, अन्तरसहकारी कारोबार, सहकारी प्रबद्र्धन कोषको प्रभावकारी कार्यान्वयन र तहगत कानुनमा एकरुपताको लागि सामुहिक पैरवी गर्न गोष्ठीमा सहभागीहरुले प्रतिबद्धता जनाएका छन् । त्यस्तै एकीकृत सूचना प्रणाली कोपोमिसमा समष्टिगत र नियमित तथ्यांक विवरण २०७९ असार मसान्तसम्म अद्यावधिक गर्न समेत सहकारी संस्थाका प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।

सहकारी संस्था र सदस्यहरुमा आउनसक्ने जोखिम न्यूनीकरण एवम् व्यवस्थापनको लागि संस्थागत रुपमा विपद् जोखिम न्यूनीकरण र व्यवसाय निरन्तरता योजना निर्माण गरी कार्यान्वयन गर्न समेत उनीहरुले प्रतिबद्धता जनाएका छन् ।

सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानुन अनुसार १० करोड भन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सम्पूर्ण सहकारी संस्थाले गोएएमएल सफ्टवेयर प्रणालीमा आबद्धता र नियमित प्रतिवेदन पेश गरी कानुनको प्रभावकारी कार्यान्वयन गर्न, गराउन समेत उनीहरु प्रतिबद्ध भएका छन् ।

दुई दिने गोष्ठीको समापन गर्दै नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरुले घोषणा पत्रमा उल्लेख भएका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न सम्पूर्ण सहकारीकर्मीलाई आव्हान गर्नुभयो ।

जारी घोषणा पत्रमा सहकारी संस्था, सरकारी निकाय, राजनीतिकदलहरुले समेत प्रतिवद्धता जनाएको समेत उहाँले बताउनुभयो । सहकारी सहकारी सञ्चालन गर्न र सफल सहकारीकर्मी बन्न व्यवहार र विश्वास हुनुपर्ने समेत उहाँको धारणा थियो ।






SHARE THIS