मर्जरमा जाने कम्पनीलाई बीमा समितिको स्वीकृति

काठमाडौँ । बीमा समितिले प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीलाई गाभ्न तथा गाभिन (मर्जर)मा जान स्वीकृति प्रदान गरेको छ । समितिले मर्जरमा जान इच्छुक रहेका तीन जीवन बीमा कम्पनीलाई मङ्गलबार स्वीकृति दिइएको हो ।

समितिले यसअघि निर्जीवन बीमा कम्पनीको तर्फबाट हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सलाई  गाभ्न तथा गाभिन (मर्जर)मा जान स्वीकृति प्रदान गरिसकेको छ । यी कम्पनीहरुले गत साता मर्जरमा जाने सहमति गरेका थिए ।

समितिले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सलाई एक आपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति दिएको हो । साथै,सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न समेत निर्देशन दिइएको हो ।

समितिका अनुसार ती कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको र त्यसका लागि संयुक्तरुपमा निवेदन दिई सहमति माग गरेकाले त्यस सम्बन्धमा सैद्धान्तिक सहमति प्रदान गरिएको हो ।

बीमा समितिको निर्देशनपछि पुँजी बृद्धिको दबाबमा रहेका बीमा कम्पनीहरु मर्जरमा लागेका छन् । समितिको चैत १० गतेको निर्देशन अनुसार एक वर्षभित्रै निर्जीवन बीमा कम्पनीले दुई अर्ब ५० करोड रुपियाँ र जीवन बीमा कम्पनीहरुले पाँच अर्ब रुपियाँ चुक्ता पुँजी पुर्‍याउनेपर्ने व्यवस्था छ । 

सेयर कारोबार रोक्का

मर्जर प्रक्रिया अगाडि बढाएका प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । तीन वटै कम्पनी एक आपसमा गाभिने भएपछि सेयर कारोबार रोक्का गरिएको हो ।

हाल प्राइम लाइफको दुई अर्ब ७७ करोड, गुराँसको दुई अर्ब आठ करोड र युनियन लाइफको दुई अर्ब १५ करोड रुपियाँ चुक्ता पुँजी रहेको छ ।


SHARE THIS