बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा साढे एक अर्ब रुपियाँ लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ / नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब ५० करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा ३६५ दिन अवधिको लागि लगानी गर्न लागेको हो ।

वाणिज्य बैङ्कमा एक अर्ब २० करोड रुपियाँ, विकास बैङ्कमा २२ करोड ५० लाख रुपियाँ र वित्त कम्पनीमा सात करोड ५० लाख रुपियाँ गरी कुल एक अर्ब ५० करोड रुपियाँ लगानी गर्न लागेको राष्ट्र बैङ्कले जनाएको छ । लािगनीका हिसाबले वाणिज्य बैङ्कमा ८० प्रतिशत, विकास बैङ्कमा १५ प्रतिशत र वित्त कम्पनीमा पाँच प्रतिशत लगानी गर्न लागिएको राष्ट्र बैङ्कले सोमबार जारी गरेको सर्कुलरमा उल्लेख छ ।

मुद्दती निक्षेपको रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले लिन चाहेको रकम खोली बुधबार राती १२ बजेसम्म प्रप्त हुने गरी ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

मुद्दती निक्षेपको रकम लिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा दुई वर्ष पुरा गरेको हुनुपर्ने तथा बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष अनुपाल कायम रहेको हुनुपर्ने राष्ट्र बैङ्कको शर्त छ ।

निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको हुनुपर्ने तथा खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने राष्ट्र बैङ्कको शर्त छ ।

यस्तै कर्जा/निक्षेप अनुपात बैंकले समयसमयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने, निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको हुनुपर्ने पनि राष्ट्र बैङ्कको शर्त छ ।

यस्तै मुद्दती निक्षेप लिन निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको तथा रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने राष्ट्र बैङ्कको शर्त रहेको छ ।


SHARE THIS