बजेटकै अर्को दिन सेयर बजार ओरालो, नेप्से २१ सयको विन्दुमा

काठमाडौँ । सेयर बजार ओरालो लाग्ने क्रममा २१ सयको विन्दुमा आइपुगेको छ । सरकारले नीति तथा कार्यक्रम ल्याएको दिनदेखि उकालो लागेको सेयर बजार बजेटको पूर्वसन्ध्यादेखि ओरालो लाग्न शुरु गरेको थियो ।

सोमबार सेयर बजार मापक नेप्से परिसूचक ५०.३३ अंकले ओरालो लागेर २१७३.४४ को विन्दुमा पुुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १०.३३ अंकले ओरालो लागेर ४२२.७४ को विन्दुमा पुुगेर रोकिएको छ । समग्रमा सोमबारको नेप्से २.२६ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि २.३८ प्रतिशतले ओरालो लागेको छ ।

सोमबार बजार खुलेलगत्तै उकालो लागेको बजार कारोबार सुरु भएको नौ मिनेटसम्म केही उकालो लागेर २२३३ अंकसम्म उक्लिएको थियो । त्यसपछि बजार ओरालो लागेको हो ।

सरकारले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको दिनदेखि उकालो लागेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेपछि फेरी ओरालो लागेको थियो ।

लगानीकर्ताको सेयर बजारमा ४/१२ नीति, आयातमा सतप्रतिशत मार्जिन, कर्जा खुकुलो बनाउने तथा नीतिगत ब्याजदर कम गर्ने अपेक्षा पुरा नभएपछि बजार ओरालो लागेको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नीतिगत दरहरु यथावत राख्दै  आवश्यकता अनुसार ब्याजदर चलाउने नीति सार्वजनिक परेपछि साताको अन्तिम दिन बजारमा नकारात्मक प्रभाव देखिएको थियो ।

शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक १५.८२ अंकले ओरालो लागेर २२२३.७८ को विन्दुमा पुुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ३.४० अंकले ओरालो लागेर ४३३.०७ को विन्दुमा पुुगेर रोकिएको थियो । समग्रमा शुक्रबारको नेप्से ०.७१ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ०.७८ प्रतिशतले ओरालो लागेको थियो ।

सोमबार २२७ कम्पनीहरुको ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर २६ हजार ९४९ पटक खरिदबिक्री हुँदा एक अर्ब ३३ करोड ८८ लाख ५६ हजार २८२ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा चार करोड रुपियाँले बढी हो ।

शुक्रबार २२३ कम्पनीहरुको ४१ लाख ४० हजार ६६५ कित्ता सेयर २१ हजार ९०४ पटक खरिदबिक्री हुँदा एक अर्ब २९ करोड ८९ लाख पाँच हजार ५९० रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

सोमबार चार करोड ९६ लाख रुपियाँ बराबरको सेयर कारोबार भएर कारोबार रकमका आधारमा  नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिष्टिलरी र एनआईसी एशिया बैंकको चार करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

मर्जरका कारण रोकिएर एक वर्षपछि कारोबारमा आएको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर सोमबार  नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बैंकको सेयरमूल्य ४० रुपियाँ ७९ पैसा घटेर ३६७ रुपियाँ ७० पैसामा अन्तिम कारोबार भएको छ । ज्योति लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को सेयरमूल्य सात प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

सोमबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.२२ प्रतिशतले ओरालो लागेको सोमबार जीवन बीमाको परिसूचक २.८५ प्रतिशतले ओरालो लागेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य २.८५, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक दुई प्रतिशत भन्दा बढीले ओरालो लागेको छ ।


SHARE THIS