नेप्से परिसूचक साढे २२ सयभन्दा तल, कारोबार रकम पनि ९३ करोडमा झर्‍यो

काठमाडौँ । पहिलोपटक शुक्रबार कारोबारमा आएको सेयर बजार पनि गिरावटकै  बाटोमा गएको छ । सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय लागू भएपछि पहिलो पटक शुक्रबार भएको सेयर कारोबारमा नेप्से परिसूचक १६ अङ्कले घटेर साढे २२ सयभन्दा तल झरेको हो । नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएर एक अर्ब रुपियाँभन्दा तल झरेको छ ।

साताको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक १५.८२ अङ्कले ओरालो लागेर २२३५.०९ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि २.४७ अङ्कले ओरालो लागेर ४३४.७३ को बिन्दुमा पुगेको छ । 

बुधबार सामान्य बढेको बजार बिहीबार दोहोरो अङ्कले ओरालो लाग्दा नेप्से परिसूचक साढे २२ सयको बिन्दुमा आइपुगेको थियो ।

शुक्रबार दिनभर २२३ कम्पनीको २५ लाख २४ हजार २६८ कित्ता सेयर खरिदबिक्री हुँदा ९३ करोड २२ लाख छ हजार ८४ रुपियाँको कारोबार भएको छ । यो अघिल्लो दिनको तुलनामा झन्डै ३८ करोड रुपियाँले कमी हो ।

शुक्रबार कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहको परिसूचकबाहेक बाँकी १२ वटै उपसमूहको परिसूचक घटेको छ । अन्य र व्यापार उपसमूहको परिसूचक दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ भने जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । 


SHARE THIS