टेलिकमको फोरजीका ग्राहक एक करोडभन्दा बढी

काठमाडौँ । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या एक करोड भन्दा बढी पुगेको छ । २०७८ चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार एक करोड चार लाख २१ हजार ९७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको नेपाल टेलिकमले जनाएको छ ।

समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता दुई करोड २० लाख ९१ हजार ७८५ भएकोमा बाँकी २१ लाख ८७ हजार २२९ टुजी प्रविधिका ग्राहक रहेको कम्पनीले जनाएको छ । अघिल्लो महिना अर्थात २०७८ फागुनमा फोरजी ग्राहक आधार ९८ लाख ९३ हजार ८७४ र थ्रीजी ग्राहक आधार ९९ लाख ४३ हजार ७२९ रहेको थियो ।

टेलिकमले नेपालमा नै पहिलो पटक २०७३ पुस १७ गतेबाट काठमाडौं र पोखराबाट शुरु गरेको फोरजी/एलटीई सेवालाई २०७६ असोज १५ गतेदेखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ ।

फोरजी सेवा प्रयोग गर्नका लागि उपयुक्त मोबाइल फोन सेटका साथै सिम कार्ड पनि सेवा चल्ने हुनुपर्ने र फोरजी नेटवर्क उलपब्ध भएको क्षेत्रमा हुनु जरुरी भएको कम्पनीले जनाएको छ ।

कम्पनीले हाल उपलब्ध गराइरहेको फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु आवश्यक हुने जनाएको छ । मोबाइल सेट खरिद गर्दा उक्त सेटको प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी थाहा पाउन सकिने कम्पनीले जनाएको छ ।


SHARE THIS