पूँजी बजारले देशको अर्थतन्त्रको ब्यारोमिटरको रुपमा काम गर्नुपर्छ

काठमाडौँ । अर्थतन्त्रको महत्वपूर्ण पक्ष पूँजी बजारलाई परिपक्व बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार राजधानीमा आयोजना गरेको ‘परिपक्व पूँजी बजार’ विषयक सम्मेलनका सहभागीहरुले पूँजी बजारलाई परिपक्क बनाउनका लागि अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डको सहकार्य जरुरी भएको उनीहरुले बताएका छन् ।

सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले पूँजी बजार परिपक्व नभए पुँजी बजारमा फल नफल्ने भन्दै पूँजी बजारले देशको आर्थिक अवस्थामा टेवा प्रदान गर्न सक्नुपर्ने बताउनुभयो । पूँजी बजार परिपक्व हुनका लागि सक्रिय कारोबारीको संख्या बढ्नुपर्ने, प्रविधिगत रुपमा सेयर बजार बलियो हुनुपर्ने, नीतिगत रुपमा परिवक्व हुनुपर्ने, प्रत्येक सेयर कारोबारमा परिपक्वता हुनुपर्ने र नैतिक रुपमा पनि परिपक्व हुनुपर्ने उहाँले बताउनुभयो ।

पूँजी बजारले देशको अर्थतन्त्रको ब्यारोमिटरको रुपमा काम गर्नुपर्ने भन्दै उहाँले अहिले पूँजी बजार अर्थतन्त्रको ऐना हुन नसकेको बताउनुभयो । “पूँजीबजार अर्थतन्त्रको ऐना हो भनिन्छ यी विभिन्न मिटरहरुबाट के देखिन्छ भने अर्थतन्त्र कता गइरहेको भन्ने कुरा हेर्न सकिन्छ ।’’ – राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले भन्नुभयो ।


SHARE THIS