नियमानकारी निकायले नीति निर्माण र कार्यन्वयनमा परिपक्कता देखाए भने मात्रै पूँजी बजारमा परिपक्कता आउँछ

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पूँजी बजारका नियामक निकायहरुको नीतिमा परिपक्कता आए मात्रै पूँजी बजारमा परिपक्कता आउने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार राजधानीमा आयोजना गरेको ‘परिपक्व पूँजी बजार’ विषयक सम्मेलनमा परिपक्कता सबैले खोजेको भन्दै उहाँले भन्नुभयो “यो नियामनकारी निकायले नै सुरु गर्नुपर्छ । नियमानकारी निकायले नीति निर्माण र कार्यन्वयनमा परिपक्कता देखायौं भने मात्रै पूँजी बजारमा परिपक्कता आँउछ । यसलाई सबैले गहन रुपमा बुझ्नुपर्छ ।’’ नेपालको बजारमा संस्थागत लगानीकर्ताहरुको भुमिका कम रहेको भन्दै संस्थागत लगानीकर्तालाई बजारमा ल्याउने वातावरण बनाउनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।

शुक्रबार पूँजी बजार खोल्न निर्देशन

बोर्डका अध्यक्ष हमालले शुक्रबार पनि पूँजी बजार खोल्न नेप्सेलाई निर्देशन दिँदै चार दिन मात्रै सेयर बजार खोल्नु उपयुक्त नहुने बताउनुभयो । लगानीकर्तामा पर्याप्त ज्ञान नहुँदा अहिले सामाजिक सञ्जालमा आएको कतिपय कुराहरुले नै पूँजी बजारलाई प्रभावित पार्ने गरेको भन्दै बोर्डका अध्यक्ष हमालले भन्नुभयो “अहिले त सामाजिक सञ्जाललाई ऐनले एड्रेस समेत गरेको छैन । हामी अहिले ऐनको परिमार्जनमा लागिरहेका छौं । ९० प्रतिशत काम गरिसकेका छौं ।’’

वैदेशिक रोजगारीमा गएकालाई आइपीओमा छुट्टै कोटा

विभिन्न हल्लाकै आधारमा बजार उतारचढाव हुनु राम्रो नरहेको भन्दै उहाँले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई दुई महिनाभित्र आइपीओमा छुट्टै कोटा उपलब्ध गराउन लागिएको जानकारी दिनुभयो । घट्दो विदेशी मुद्रा सञ्चित बढाउन र रेमिट्यान्स बढाउन आइपीओमा श्रमिकहरुलाई कोटा छुट्याउने र रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट भित्र्याउन प्रोत्साहन गर्ने उहाँले बताउनुभयो ।

एनआरएनलाई दोस्रो बजारमा लगानी गर्ने वातावरण बनाउने

त्यस्तै एनआरएनहरुलाई पनि दोस्रो बजारमा लगानी गर्न प्रोत्साहन गर्न गृहकार्य गरिरहेको उहाँले बताउनुभयो । एनआरएनले आफ्ने डलर खाताबाट दोस्रो बजारमा सिधै सेयर खरिद गर्न सक्ने व्यवस्था गरिने बताउँदै उहाँले आगामी तीन महिनाभित्र कार्यन्वयन गर्ने गरिकाम गरिरहेको बताउनुभयो ।


SHARE THIS