अर्थतन्त्रका सूचक अहिले पनि नकारात्मक भएकाले तरलताको समस्या तत्काल समाधान हुँदैन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचक अहिले पनि नकारात्मक नै भएकोले तरलताको समस्या तत्काल समाधान नहुने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आइतबार राजधानीमा आयोजना गरेको आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक अन्तर्क्रिया कार्यक्रममा उहाँले तत्काल तरलताको समस्या समाधान नहुने बताउनुभएको हो ।

शोधान्तरको स्थिति तत्काल सुधार हुने अवस्था नदेखिएकोले तरलताको समस्या पनि तत्काल समाधान नहुने उहाँको भनाई थियो । 

‘विश्व कोरोना महामारीपछि मुद्रास्फिति बढेको छ, आयातमा आधारित अर्थतन्त्र भयो, आयातजन्य वस्तु बढ्दा महँगो भएको हो, रेटमा चाप दिएपनि उपभोग घटेन,’ उहाँले भन्नुभयो ।

ब्याज बढ्दैमा निक्षेप बढ्दैन भन्ने सही भएपनि कुनै वस्तुको उपभोग कम गर्नका लागि पनि रेट बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । वर्तमान अर्थतन्त्र धेरै सकारात्मक नभएकोले सबै सजग बन्नु पर्नेमा गर्भनर अधिकारीको जोड थियो ।

हाल मुलुकमा भित्रिने रेमिट्यान्सले आयातको ४० प्रतिशत मात्र धान्ने अवस्था रहेको र बाँकी स्रोतले आयात धान्न सक्ने अवस्था नरहेकाले सबै सचेत हुनुपर्ने भन्दै उहाँले भन्नुभयो ‘हाम्रो नेपाली उपभोक्ता जति मूल्य परे पनि खरिद गर्ने प्रवित्ति बढेको छ, यसले उपभोग्य वस्तुको आयात बढेको छ, पैसा बहिरिएको छ, वार्षिक तीन अर्ब डलर यसरी बाहिरिएकाले हाम्रो ९ अर्ब डलर विदेशी मुद्रा डलर सञ्चितिले धेरै धान्दैन ।


SHARE THIS