सहकारीको डिजिटल रुपान्तरणका लागि साझोदरी

ललितपुर । राष्ट्रिय सहकारी महासंघले सहकारीको डिजिटल रुपान्तरणका लागि इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गर्न सोमबार सम्झौता गरेको छ । सहकारी व्यवसायलाई मर्यादित र पारदर्र्शी बनाउँदै सुशासन कायम गर्न प्रविधिको भूमिका अपरिहार्य भएकाले इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गरेको महासंघका अध्यक्ष मिनराज कँडेलले बताउनुभयो । महासंघ सबै प्रकारका सहकारीमा प्रविधिको पहुँच विस्तार गर्ने अभियानमा रहेको उहाँले बताउनुभयो ।

सम्झौता पत्रमा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गर्नुभएको थियो ।

सहकारी तथा लद्युवित्तलाई मुख्य क्षेत्र बनाएर काम गरेको इन्फोडेभलपर्सले अहिले नेपाल सरकार, अन्तर्राष्ट्रिय एजेन्सीलगायतका लागि महत्वपूर्ण सफ्टवेयर विकास गरेको छ ।  कम्पनीले हाल एक हजारभन्दा बढी सहकारी, दर्जनांै लघुवित्त र केही बैंकहरुलाई सेवा दिइएरहेको जनाएको छ ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले देशकै प्रतिष्ठित कम्पनीसँग एनसीएफले रणनीतिक साझेदारी गरेकोमा खुसी व्यक्त गर्नुभयो । महासंघका महाप्रबन्धक सुब्बाले महासंघले डिजिटल सहकारी अभियानका लागि कार्य गरिरहेको र त्यसको एउटा कार्यको रुपमा इन्फोडेभलपर्ससँगको साझेदारी रहेको बताउनुभयो ।

विकु साकोसका सिइओ माधव पौडेलले सहकारीमा प्रविधिको प्रयोग सुशासनको प्रस्थान विन्दु भएको औल्याउँदै इन्फोडेभलपर्सले विकास गरेको इन्फिनिटी सफ्वेयर प्रयोग गरेसँगै डिजिटल सेवा लिने सदस्यहरु बढेको अनुभव सुनाउनुभयो ।

विन्धबासिनी साकोसका सिइओ केवी लामाले प्राविधिक सेवा उत्कृष्ट रहेको बताउनुभयो । इन्फोडेभलपर्सका सिइओ रघु राघुवंसीले इन्फिनिटी सफ्वेयरलगायत अन्य प्रडक्टहरुको विषयमा प्रस्तुति गर्नुभएको थियो ।


SHARE THIS