पूँजी बजारले देशको आर्थिक अवस्थामा टेवा प्रदान गर्न सक्नुपर्छ

काठमाडौँ । अर्थतन्त्रको महत्वपूर्ण पक्ष पूँजी बजारलाई परिपक्व बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार राजधानीमा आयोजना गरेको ‘परिपक्व पूँजी बजार’ विषयक सम्मेलनका सहभागीहरुले पूँजी बजारलाई परिपक्क बनाउनका लागि अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डको सहकार्य जरुरी भएको उनीहरुले बताएका छन् ।

सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले पूँजी बजार परिपक्व नभए पुँजी बजारमा फल नफल्ने भन्दै पूँजी बजारले देशको आर्थिक अवस्थामा टेवा प्रदान गर्न सक्नुपर्ने बताउनुभयो । पूँजी बजार परिपक्व हुनका लागि सक्रिय कारोबारीको संख्या बढ्नुपर्ने, प्रविधिगत रुपमा सेयर बजार बलियो हुनुपर्ने, नीतिगत रुपमा परिवक्व हुनुपर्ने, प्रत्येक सेयर कारोबारमा परिपक्वता हुनुपर्ने र नैतिक रुपमा पनि परिपक्व हुनुपर्ने उहाँले बताउनुभयो ।

पूँजी बजारले देशको अर्थतन्त्रको ब्यारोमिटरको रुपमा काम गर्नुपर्ने भन्दै उहाँले अहिले पूँजी बजार अर्थतन्त्रको ऐना हुन नसकेको बताउनुभयो । “पूँजीबजार अर्थतन्त्रको ऐना हो भनिन्छ यी विभिन्न मिटरहरुबाट के देखिन्छ भने अर्थतन्त्र कता गइरहेको भन्ने कुरा हेर्न सकिन्छ ।’’ – राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले भन्नुभयो ।

नीतिगत तहमा पर्याप्त ज्ञान भएन

पूर्व अर्थसचिव शंकर अधिकारीले पूँजी बजारको सन्दर्भमा नियमकीय निकायबाट गलत नियम तथा नीतिहरु अगाडि सारिएको बताउनुभयो । नेपालको नियमकीय तथा सरकारी निकायमा विषयवस्तुको अज्ञानता अधिक रहेको भन्दै उहाँले पूँजीबजारको महत्व के हो ? यो कसरी चल्छ ? यसका समस्या के हुन् ? यसलाई कसरी सम्बोधन गर्ने जस्ता विषयमा पर्याप्त ज्ञान नीतिगत तहमा नभएको बताउनुभयो ।

पूँजी बजारमा ४/१२ करोडको नीति नकारात्मक मनोविज्ञानको नतिजा रहेको बताउँदै उहाँले नीतिको परिणाम कस्तो हुने विषयको गहन अध्ययन नगर्ने प्रवृत्ति हावी भएको बताउनुभयो । अर्थमन्त्री र सचिवको ध्यानमा पूँजी बजारको सिन नै नआउने भन्दै उहाँले भन्नुभयो, ‘‘क्रिटिकल केसहरु र रिफर्मका कुराहरुमा उहाँहरुको ध्यान जाँदैन ।’’ अत्यधिक लगानीकर्ताको सहभागिता, गुनासो र सञ्चार माध्यमको जोडले हिजोआज अर्थ मन्त्रालयको ध्यान केही हदसम्म खिचेको भन्दै उहाँले कोभिड र अनलाइन प्रविधिले बढेको पूँजी बजारप्रति नियामक चिन्तित हुँदा बजार प्रतिकूल नीति निर्माणमा सहायता पुगेको बताउनुभयो ।

राष्ट्र बैंक आफैंले बजारप्रति सकारात्मक धारणा व्यक्त गर्न नसकेको उहाँको भनाई थियो । बजार अनुकूल वातावरण निर्माण गर्न लगानीका सल्लाह, सुझाव र गुनासोलाई मूल्याङ्कन गर्न अवश्यक रहेको भन्दै पूर्व अर्थसचिव अधिकारीले बजारको बढ्दो सहभागितालाई मध्यनजर गर्दै कमिसन तथा लाभकरका विषयमा नियामकबाट पुनर्विचार गर्न जरुरी रहेको बताउनुभयो ।

नियामक निकायको कमजोरी मात्र नभएर बजारको आफ्नै परिपक्वता पनि नरहेको भन्दै उहाँले सीमित क्षेत्रको अत्यधिक चढावका कारण बढेको बजारलाई मूल्याङ्कन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

परिपक्कता नियामकले सुरु गर्नुपर्छ

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पूँजी बजारका नियामक निकायहरुको नीतिमा परिपक्कता आए मात्रै पूँजी बजारमा परिपक्कता आउने बताउनुभयो । परिपक्कता सबैले खोजेको भन्दै उहाँले भन्नुभयो “यो नियामनकारी निकायले नै सुरु गर्नुपर्छ । नियमानकारी निकायले नीति निर्माण र कार्यन्वयनमा परिपक्कता देखायौं भने मात्रै पूँजी बजारमा परिपक्कता आँउछ । यसलाई सबैले गहन रुपमा बुझ्नुपर्छ ।’’ नेपालको बजारमा संस्थागत लगानीकर्ताहरुको भुमिका कम रहेको भन्दै संस्थागत लगानीकर्तालाई बजारमा ल्याउने वातावरण बनाउनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।

शुक्रबार पूँजी बजार खोल्न निर्देशन

बोर्डका अध्यक्ष हमालले शुक्रबार पनि पूँजी बजार खोल्न नेप्सेलाई निर्देशन दिँदै चार दिन मात्रै सेयर बजार खोल्नु उपयुक्त नहुने बताउनुभयो । लगानीकर्तामा पर्याप्त ज्ञान नहुँदा अहिले सामाजिक सञ्जालमा आएको कतिपय कुराहरुले नै पूँजी बजारलाई प्रभावित पार्ने गरेको भन्दै बोर्डका अध्यक्ष हमालले भन्नुभयो “अहिले त सामाजिक सञ्जाललाई ऐनले एड्रेस समेत गरेको छैन । हामी अहिले ऐनको परिमार्जनमा लागिरहेका छौं । ९० प्रतिशत काम गरिसकेका छौं ।’’

वैदेशिक रोजगारीमा गएकालाई आइपीओमा छुट्टै कोटा

विभिन्न हल्लाकै आधारमा बजार उतारचढाव हुनु राम्रो नरहेको भन्दै उहाँले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई दुई महिनाभित्र आइपीओमा छुट्टै कोटा उपलब्ध गराउन लागिएको जानकारी दिनुभयो । घट्दो विदेशी मुद्रा सञ्चित बढाउन र रेमिट्यान्स बढाउन आइपीओमा श्रमिकहरुलाई कोटा छुट्याउने र रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट भित्र्याउन प्रोत्साहन गर्ने उहाँले बताउनुभयो ।

एनआरएनलाई दोस्रो बजारमा लगानी गर्ने वातावरण बनाउने

त्यस्तै एनआरएनहरुलाई पनि दोस्रो बजारमा लगानी गर्न प्रोत्साहन गर्न गृहकार्य गरिरहेको उहाँले बताउनुभयो । एनआरएनले आफ्ने डलर खाताबाट दोस्रो बजारमा सिधै सेयर खरिद गर्न सक्ने व्यवस्था गरिने बताउँदै उहाँले आगामी तीन महिनाभित्र कार्यन्वयन गर्ने गरिकाम गरिरहेको बताउनुभयो ।

अर्थतन्त्रको दबाब धितोपत्र बजारमा

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग वाणिज्य महासंघले ५० लाख जनताको चासो र चिन्तको विषयमा छलफल गरेको भन्दै कोरोना महामारीपछि अर्थतन्त्रमा हरेक पक्षमा कर्जाको माग बढेको भएपनि अर्थतन्त्रको संरचनाले त्यसलाई सम्बोधन गर्न नसकेको बताउनुभयो । पछिल्लो समयमा अर्थतन्त्रमा परेको दबाबको असर धितोपत्र बजारमा पनि देखिन थालेको बताउँदै उहाँले भन्नुभयो “पूँजी बजारलाई देश अर्थतन्त्रको ऐनको रुपमा हेरिन्छ, यसको विकास र विस्तारमा सबै पक्षहरुको सहकार्य आवश्यक छ ।” कोभिड महामारीमा समेत निरन्तर बढेको बजार अहिले उच्चदरमा घटेको भन्दै उहाँले पछिल्लो समयमा ब्याजदरको बृद्धिले सेयर बजारमा नकारात्मक असर पारेको बताउनुभयो ।

राष्ट्र बैंकले मार्जिन ल्याण्डिङ्गको सिङगल अब्लिगर लिमिटको व्यवस्था गरेपछि लगानीकर्ताको मनोबल झनै कमजोर भएको उहाँले बताउनुभयो । धितोपत्र बजारको परिपक्कता र स्थिरताका लागि विदेशी कम्पनीहरुले नेप्सेको सेयर खरिद गर्ने, इन्ट्रा डे टे«डिङ, सर्ट सेल, संस्थापक सेयरलाई साधारण सेयर सरहको कारोबार आवश्यक रहेको उहाँको भनाई थियो । धितोपत्र बजारसँगै कमोडिटी मार्केटको पनि विकास गर्नुपर्नेमा जोड दिंदै उहाँले भन्नुभयो “ब्रोकर संख्या बढाउनुका साथै वित्तीय औजार पनि बढाउनुपर्ने छ ।” धितोपत्र बजारमा गौरआवसीय नेपालीलाई भित्र्याउने,इन्साइडर कारोबारलाई नियन्त्रण गर्ने, बैंक मर्चेन्ट बैंक र ब्रोकरमा विदेशी साझेदारभित्र्याउन ध्यान दिनुपर्ने बताउनुभयो । अर्थतन्त्र सधै यस्तै नरहने भन्दै उहाँले आर्थिक सुधारमा पूँजी बजारले महत्वपुर्ण योगदान दिने बताउनुभयो ।

पूँजी बजारमा एसएमई प्ल्याटर्फम

नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले परिपक्क पूँजी बजार सम्मेलनमा एसएमई प्ल्याटर्फम बनाउन कार्यदल बनाएर छिटै अगाडि बढाउने तयारीमा रहेको बताउनुभयो । “एसएमई प्ल्याटर्फको लागि कानुनी रुपमा केगर्नुपर्छ, प्रविधिमा के के गर्नुपर्छ, प्रकृया के के हुन यी कुराहरुको अध्ययन गरेर एककार्यदल बनाएर छिटै अगाडि बढाउने छौं ।’’ अहिले पूँजी बजारमा सेक्युरिटी ट्रेडिङमात्रै गर्न सकिने अवस्था रहेकोमा सेक्युरिटी ट्रेडिङ मात्र नभएर अन्य औजारहरुलाई पनि अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

डिम्याटसँग जोडिएको लगानीकर्ता उल्लेख्य

सीडीएससी एण्ड क्लियारिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले कुल डिम्याट खाता अन्तर्गत दुई लाख ९६ हजार दोहोरिएका खाता रहेको भन्दै बाँकी ४८ लाख डिम्याट खाता वास्तविक लगानीकर्ताहरुको नै रहेको बताउनुभयो । दक्षिण एसियाली मुलुकहरुको करिब १८ प्रतिशत जनसंख्या पुँजी बजारमा आवद्ध रहेको हुँदा नेपालमा डिम्याट खातासँग जोडिएको लगानीकर्ताको संख्या उल्लेख्य रहेको उहाँको भनाई थियो ।


SHARE THIS