सहकारीको पुँजी र जनशक्तिलाई उद्यमशीलता तथा रोजगारीमार्फत मुलुकको समृद्धितर्फ लैजान सकिन्छ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सहकारीको बलियो पुँजी र जनशक्तिलाई उद्यमशीलता तथा रोजगारीमार्फत मुलुकको समृद्धितर्फ लैजान सकिने बताउनुभएको छ । त्यसका लागि नीतिगत तथा कानुनी अड्चन समाधान गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

राष्ट्रिय सहकारी महासंघ, नेपालको आयोजनामा शुक्रबारदेखि राजधानीमा सुरु भएको ‘नेशनल युथ फोरम: को–अपरेटिभ अन्ट्रपेयिरसीप २०२२’ मा बोल्दै मन्त्री पौडेलले समृद्धिको बाटोमा हिड्ने अब युवा नै रहेको बताउनुभयो ।

युवाहरुको काँधमा मुलुकको समृद्धिको जिम्मेवारी आएको भन्दै उहाँले भन्नुभयो – ‘तपाईहरु अघि बढ्नुस हाम्रो साथ र सहयोग रहनेछ ।’ मुलुकमै प्रचुर सम्भावनालाई विदेशीहरुले देखेको तर नेपालीहरु स्वयंले नदेखेको भन्दै युवाहरुलाई सम्भावना खोज्ने अभियानमा सहकारीलाई सारथी बनाउन उहाँले आग्रह गर्नुभयो ।

लागिपर्‍यो भने पुँजी जुट्ने भन्दै मन्त्री पौडेलले युवाहरुमा इच्छाशक्ति, जागरुकता, क्रियाशीलता र अनुशासन आवश्यक छ, बाँकी अड्चनहरुले रोक्न नसक्ने भनाइ राख्नुभयो ।

कार्यक्रमका सभापति तथा सहकारी महासंघका सञ्चालक सागर ढकालले सहकारीमार्फत उद्यमशीलताको तिर्खा मेटाउन फोरमको आयोजना गरिएको बताउनुभयो ।

युवाहरुको बुद्धि र कामले देशलाई सफलतातर्फ डोर्‍याउने बताउँदै उहाँले सहकारीमार्फत उद्यमशीलतासँग जोडिन सम्पूर्ण सहकारीकर्मीलाई आब्हान गर्नुभयो । सरकारमार्फत नीतिगत सहजीकरण भए सहकारी मोडलबाट धेरै काम गर्न सकिने उहाँको भनाइ थियो ।

सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ् सुब्बाले सहकारी क्षेत्रको अबको फोकस उद्यमशीलता भएको बताउँदै अभियानलाई दिगो र मर्यादित बनाउन युवाहरुको सत्रिय सहभागिता आवश्यक भएको धारणा राख्नुभयो ।

सहकारी क्षेत्रमा करिब ३० प्रतिशत युवा सहभागिता रहेको आँकडा प्रस्तुत गर्दै युवा सहभागिताले नै सहकारीलाई मर्यादित र प्रविधिमैत्री बनाउने दाबी उहाँले गर्नुभयो । सहकारी अब नवीनतम प्रविधिसँग जोडिनुपर्ने भन्दै उहाँले भन्नुभयो – ‘त्यसका लागि युवाको आवश्यकता हुन्छ किनकि उनीहरु सृजनशील, नवप्रवर्तनमुखी र जोखिम बहन गर्न सक्ने सक्षमता बहन गर्छन् ।’

शनिबारसम्म चल्ने सम्मेलनमा सहकारी, युवा र उद्यमशीलताका विभिन्न विषयमा एक दर्जन कार्यपत्र प्रस्तुत हुने आयोजक संस्थाले जनाएको छ ।


SHARE THIS