प्रति सेयर २० रुपियाँका दरले नगद लाभांश वितरण गर्दै नेपाल टेलिकम

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई प्रत्येक १०० कित्ता सेयर बराबर २० (बीस) कित्ताको अनुपातमा बोनस सेयर र प्रति सेयर २० रुपियाँका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको बिहीबार राजधानीमा बसेको चौधौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पुँजी १८ अर्ब पुर्‍याउने प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले कर तथा गैर कर वापत आफ्नो कुल आयको ५० प्रतिशत भन्दा अधिक रकम अर्थात २७ अर्ब ७३ करोड रुपियाँ राजस्व दाखिला कम्पनीले गरेको जानकारी दिंदै सोही अवधिमा संस्थागततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीको रूपमा नेपाल सरकारद्वारा सम्मानित भएको बताउनुभयो ।

इन्टरनेटको बहुउपयोगमार्फत सूचना प्रवाहलाई सजिलो र प्रभावकारी बनाउनुको साथै इन्टरनेट सेवाको विस्तारमा ध्यान केन्द्रित गरिएको जनाउँदै उहाँले स्याटेलाइट प्रविधिको समेत प्रयोगद्वारा विकट हिमाली जिल्लाहरूमा वायरलेस तथा वायरलाइन सेवा उपलब्ध गराइएको बताउनुभयो ।

मुलुकभर अप्टिकल फाइबर विस्तार गर्नुका साथै बीटीएस तथा ट्रान्समिसन उपकरणहरू जडान गरी स्थानीय टेलिफोन सेवा, फोरजी एलटीई सेवा र एफटीटीएच सेवा विस्तार तथा वितरणमा तीब्रता दिइएको उहाँले बताउनुभयो ।

नेपाल सरकारको सूचना महामार्ग निर्माणको लक्ष्यमा सहयोग पुर्‍याउन कम्पनीले ब्याकबोन नेटवर्क, मल्टिपल क्रसबोर्डर अप्टिकल फाइबर नेटवर्क र मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । नेपाल सरकारको नीतिअनुरूप स्थानीय तहको केन्द्र, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक क्याम्पसमा इन्टरनेट सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिनुका साथै स्थानीय तहहरूमा फोरजी सेवा विस्तार गरिएको छ ।’


SHARE THIS