लघुवित्तले विद्यालयसँग सहकार्य गरी उद्यमी निर्माण केन्द्र विकास गर्ने

काठमाडौं । अब हरेक लघुवित्त संस्थाले कम्तीमा एउटा स्थानिय माध्यमिक विद्यालयसँग सहकार्य गरी उद्यमी निर्माण केन्द्रको रूपमा विकास गर्ने भएका छन ।

स्कुलमा अध्ययन गर्ने लघुवित्त सदस्यका छोराछोरीहरूसँग संवाद गरी उद्यमी बन्न प्रोत्साहित गर्ने र कर्जा सुविधा उपलब्ध गराउने घोषणा गर्दै तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ ।

काठमाडौंमा दुई दिनदेखि सञ्चालन भइरहेको ‘तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

‘घर–घरमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’ भन्ने नारालाई मुर्त रुप दिन सम्मेलनका सहभागी सदस्यहरूले आ–आफनो क्षेत्रमा उद्यमशीलता अभिवृद्धि गर्न अभियन्ताको रुपमा कार्य गर्ने घोषणा पनि सम्मेलनले गरेको छ ।

लघुवित्त संस्थाहरूले आफ्ना ग्राहक सदस्यहरूको बृद्धि मापन गरी सम्भावित उद्यमी सदस्यहरूको पहिचान गरी उनीहरूलाई व्यावसायिक रूपमा सक्षम उद्यमी बनाउनको लागि स्थानीय सेवाप्रदायक संस्थाहरू स्थानीय निकायहरूसँग समेत समन्वय गरी उद्यमशीलता अभिबृद्धिको लागि सहजीकरण गर्ने घोषणापत्रमा उल्लेख छ ।

हालसम्म पनि लघुवित्तको पहुँचबाट टाढा रहेका तथा दुर्गम स्थानका अतिविपन्न वर्गमा पर्ने परिवारहरूको पहिचान गरी विवरण तयार गर्ने र कार्य योजना बनाइ प्रभावकारी ढंगले कार्यान्वयन गर्ने । यसरी समेटिने अति विपन्न परिवारको अनुगमन प्रणालीमा समेत विकास गर्ने सम्मेलनले घोषणा गरेको छ ।

लघुवित्त सेवाको आधारभुत मूल्य मान्यता तथा ग्राहक संरक्षण सिद्धान्तहरू पूर्ण पालना हुने गरी कार्य पद्धतिमा पुनरावलोकन गरी पूर्ण प्रतिबद्धताका साथ कार्यान्वयन गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

लघुवित्तका सदस्यहरूलाई ऋणको अतिभारबाट जोगाउन साख सूचना लिने दिने कार्यलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्ने पनि सम्मेलनले घोषणा गरेको छ । कर्जा सूचना केन्द्रबाट लघुवित्त संस्थाहरूबीच मात्र साख सुचना लिनेदिने पद्धतिलाई ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू र सहकारी संस्थाहरूबीचको विपन्न वर्ग कर्जा कारोबारलाई समेत साख सूचना लिने दिने पद्धति लागु गर्न सम्बन्धित निकायहरू समक्ष अनुरोध गर्ने घोषणापत्रमा उल्लेख छ ।

लघुवित्तको माध्यमबाट गरिबी न्यूनीकरण गर्न साविकको कार्य पद्धतिमा भएको कमि कमजोरी यकिन गरी कर्जाको सदुपयोग, स्वरोजगारी, वचत परिचालन, बीमा, सुरक्षण, बजारीकरणको प्रणाली क्रियाशील रहने व्यवस्था गर्ने सम्मलेलनले घोषणा गरेको छ ।

घोषणापत्रमा लघुवित्तका असल प्रयासहरू दोस्रो पुस्ता, अर्थात सदस्यका छोराछोरी जस्ता युवाहरूलाई उनीहरू अध्ययन गर्ने विद्यालय, कलेजमा गई अन्तरक्रियाको माध्यमबाट घरपरिवारको आर्थिक अवस्था, पारिवारिक बजेट, कर्जा, बचत, बीमा, रेमिटान्स, डिजिटलाइजेसन, स्वरोजगारी, उद्यमशीलता, पर्यावरण संरक्षण जस्ता विषयमा छलफल गर्ने तथा उनीहरूलाई तीन शुन्य क्लबको माध्यमबाट पनि परिचालन गर्ने उल्लेख छ ।

सदस्यका छोराछोरीहरू अर्थात् युवाहरूलाई स्थानिय साधन स्रोत, सम्भावनाहरू पहिचान गर्ने र ती साधन स्रोत परिचालन गरी पर्यावरणलाई कम भन्दा कम हानी गर्ने गरी व्यवसाय सञ्चालन गर्न स्वरोजगार बन्न, रोजगारीका अवसर सृजना गर्न घरपरिवारबाट, स्थानिय निकायहरूबाट र लघुवित्त संस्थाहरूबाट अभिप्रेरित गर्ने घोषणापत्रमा छ । युवाहरूको स्वभाव नै सृजनशिल हुने कुरालाई मनन गरी नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने तथा लघुवित्त संस्थाहरूमार्फत त्यस्ता युवाहरूलाई समेत वित्तीय सेवा उपलब्ध गराउने पनि सम्मेलनले घोषणा गरेको छ ।

लघुवित्त संस्थाहरूले सदस्यहरूको हित एवम् सुरक्षाको लागि बीमा कम्पनीहरूसँगको समन्वयमा कर्जा बीमा, लघुबीमा जस्ता कार्यक्रमहरूमा आबद्ध गराई उनीहरूको सुरक्षणको प्रबन्ध मिलाउने । उपलब्ध सेवाहरू आवधिक रुपमा पुनरावलोकन गर्दै सदस्यहरूको आवश्यकताअनुसार सेवाको दायरा बढाउँदै लैजाने सम्मेलनले घोषणा गरेको छ ।

बिग्रँदो वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै सकेसम्म वातावरणमा कम हानी पर्ने गरी दिगो कृषि प्रणाली, पानीको मुहान संरक्षण, बोटबिरुवाको संरक्षण सहितको स्वरोजगारीयुक्त उद्यमशिल स्वावलम्बी नमुना गाउँको विकास गर्न हरेक लघुवित्त संस्थाले आफ्नो कार्यक्षेत्रको कम्तीमा एक गाउँमा पहल गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।


SHARE THIS