साना उद्योगलाई दिगो बनाउन सुदुरपश्चिम प्रदेश सरकारको ध्यान जानेछ : आर्थिक मामिला मन्त्री रावल

काठमाडौं । सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले सुदुरपश्चिम प्रदेशका लघु, घरेलु तथा साना उद्योेगको प्रबर्द्धनमा आफू हरतरहले लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष समेत रहनुभएका मन्त्री रावलको सम्मानमा महासंघले आयोजना गरेको बधाई तथा शुभ–कामना कार्यक्रममा उहाँले यस्तो प्रतिवद्घता व्यक्त गर्नुभएको हो । लघु, घरेलु तथा साना उद्योगहरू सुदुरपश्चिम सरकारको प्राथमिकतामा परेको क्षेत्रका रुपमा रहेको भन्दै उहाँले यो क्षेत्रलाई गर्नुपर्ने सहयोग पहिलो प्राथमिकतामा रहनेमा दुई मत नभएको बताउनुभयो ।

सुदुरपश्चिम सरकारको प्राथमिकतामा यो क्षेत्र रहेको भन्दै मुलुकलाई आत्मनिर्भर बनाउने, रोजगारी सिर्जना गर्ने सवालमा महत्वपूर्ण भूमिका खेल्ने गरेको बताउनुभयो । साना उद्योगीहरुले खोजेका योजनाहरु व्यवस्थित ढंगले कार्यान्वयनको दिसामा अगाडि बढाउने प्रतिवद्घता उहाँले व्यक्त गर्नुभयो ।

“अहिले हाम्रा घरेलु उद्योग र उद्यमीहरुको जुन अवस्था छ । त्यो अवस्था हामीले त्यस्ता उद्योगहरुको व्यवस्थापन र संरक्षण गर्न नसकेको अवस्था छ । ती साना उद्योगहरुलाई कसरी दिगो बनाउने भन्ने कुरामा प्रदेश सरकारको ध्यान जानेछ ।” उहाँले भन्नुभयो ।

सुदुरपश्चिम प्रदेशका पहाडी खाली जग्गालाई लिफटिङ सिंचाइको व्यवस्था गरेर, त्यहाँका खाली रहेका उर्वर भूमिहरुलाई कसरी त्यहाँको मौसम अनुकुलका फलफुल, अन्नबाली बढीभन्दा बढी उत्पादन गर्ने

वैदेशिक रोजगारीमा गएका युवाहरुलाई कसरी स्वदेशमै रोजगारीका अवसर दिलाउने विषयमा यो वर्षको बजेट केन्द्रित हुने पनि उहाँले बताउनुभयो ।

महासंघका निवर्तमान अध्यक्ष श्याम गिरीले सुदुरपश्चिम भूगोलको हिसाबले कणालीपछि दास्रो पछाडी परेको प्रदेश भएको भन्दै त्यहाँ सम्भावना भएका वस्तुको औद्योगिकरणको चुनौति रहेको बताउनुभयो । त्यहाँ उपलब्ध कच्चा पदार्थको अन्तिम वस्तु बनाउन समस्या रहेको भन्दै उहाँले कच्चा पदार्थ मात्रै निकासी भएको अवस्थातर्फ मन्त्री रावलको ध्यानाकर्षण गराउनुभयो ।

सुदुरपश्चिम प्रदेश सरकारलाई अहिले थोरै भएपनि काम गरेर देखाउने अवसर रहेको भन्दै जडिबुटीको हिसाबले पनि कणाली जत्तिकै धनी प्रदेशका रुपमा रहेको सो प्रदेशबाट कच्चा पदार्थ नभई अन्तिम वस्तु निर्यातका लागि काम गर्नुपर्नेमा उहाँँको जोड थियो ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले सुदुरपश्चिम प्रदेशले लघु, घरेलु तथा साना उद्योेगको विषयमा जानकार व्यक्तिलाई मन्त्रीका रुपमा पाएको भन्दै उहाँको कार्यकालमा यो क्षेत्रले प्राथमिकता पाउने अपेक्षा व्यक्त गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय महिला उद्यमी समितिका अध्यक्ष रोशनी उपाध्याय, महासंघका उपाध्यक्षहरु  सत्यनारायण प्रजापति, राजेन्द्रमान श्रेष्ठ, केन्द्रीय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवाललगायतको उपस्थिति रहेको थियो ।


SHARE THIS