झण्डै डेढ लाखलाई सहुलियतपूर्ण कर्जा

काठमाडौं । सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा चालु आर्थिक वर्षको फागुन मसान्तमा १३४ अर्ब ११ करोड रुपियाँ लगानीमा रहेको छ । फागुन मसान्तसम्ममा एक लाख ४४ हजार ६२० ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २१५ अर्ब ७६ करोड रुपियाँ कर्जा बक्यौता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तरगत ५९ हजार ५६० ऋणीलाई प्रवाह भएको १३७ अर्ब ७९ करोड रुपियाँ कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८२ हजार १९७ महिला उद्यमीलाई प्रवाह भएको ७४ अर्ब १७ करोड रुपियाँ कर्जा रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तरगत दुई हजार ८६३ ऋणीको तीन अर्ब ८० करोड रुपियाँ कर्जा बक्यौता रहेको छ । “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्‍याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ फागुन मसान्तसम्ममा एक अर्ब १० करोड रुपियाँ स्वीकृत भएको छ ।


SHARE THIS