नयाँ वर्षको पहिलो कारोबारमै सेयर बजार दोहोरो अङ्कले ओरालो, परिसूचक २४ सयको बिन्दुबाट तल

काठमाडौँ । नयाँ वर्ष सुरु भएपछिको पहिलो सेयर बजारको कारोबार पनि ओरालो लागेर सुरु भएको छ । नयाँ वर्ष सुरु हुँदा बजार ३० अङ्कले ओरालो लाग्दा नेप्से परिसूचक २४ सयको बिन्दुबाट तल झरेको छ ।

आइतबार सेयर बजार मापक नेप्से परिसूचक २९.६० अङ्कले ओरालो लागेर २३८५.६४ को बिन्दुमा पुगेर अडिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ५.१२ अङ्कले ओरालो लागेर ४५०.९७ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा नेप्से १.२३ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि १.१२ प्रतिशतले ओरालो लागेको छ ।

आइतबार दिनभर २३३ कम्पनीको ३४ लाख सात हजार २७२ कित्ता सेयर २९ हजार ४४ पटक खरिद बिक्री हुँदा एक अर्ब ४४ करोड सात लाख २३ हजार १८२ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबार चार करोड ९९ लाख ४७ हजार ३८१ रुपियाँ बराबरको सेयर कारोबार भएर नेपाल टेलिकम सर्वाधिक सेयर कारोबार गर्नेमध्ये अग्रणी भएको छ भने अरुण भ्याली हाइड्रोपावर, ग्लोबल आईएमई बैङ्क डिबेन्चर, हिमालयन डिस्टिलरीको पनि चार करोड रुपियाँभन्दा माथि कारोबार भएको छ । यस्तै नबिल बैङ्क, शिवम् सिमेन्ट, नेपाल पूर्वाधार विकास बैङ्क, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तीन करोड रुपियाँभन्दा बढी कारोबार भएको छ ।


SHARE THIS