घोषणा–पत्र जारी गर्दै सहकारी उद्यमशीलता राष्ट्रिय युवा सम्मेलन सम्पन्न

काठमाडौं । सहकारीमा युवाहरुको अर्थपूर्ण सहभागिता तथा उद्यमशिलता बृद्धिका लागि विविध विषयमा काठमाडौं घोषणा–पत्र २०२२ जारी गर्दै दुई दिने “सहकारी उद्यमशीलता राष्ट्रिय युवा सम्मेलन २०७८” सम्पन्न भएको छ ।

सहकारी मार्फत युवाहरुको उद्यमशीलता विकास गर्दै उत्पादन बृद्धि मार्फत आयात प्रतिस्थापन गरी सहकारीलाई अर्थतन्त्रको एक सबल खम्बाको रुपमा स्थापित गर्ने मुख्य उद्देश्यका साथ राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले राजधानीका शुक्रबार र शनिबार सो सम्मेलन आयोजना गरेको थियो ।

सहकारीमा युवाहरुको अर्थपूर्ण सहभागिता तथा उद्यमशिलता बृद्धिका लागि विद्यमान कानुनहरुको संसोधन र विनियम तथा आन्तरिक कार्यविधिहरुको परिमार्जन गरी अनुकूल वातावरण निर्माणका लागि संयुक्त पहलकदमी गर्ने सम्मेलनले जारी गरेको घोषणापत्रमा उल्लेख छ ।

युवाहरुलाई उद्यमशीलताका लागि प्रेरित गर्न सम्पूर्ण सहकारी संघ संस्थामा युवा समन्वय उपसमिति गठन गरी युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने तथा सहकारी मार्फत उत्पादित वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति श्रृंखला विकास गरी सहकारी ब्राण्ड प्रवद्र्धन गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

युवाहरुको नविनतम सोच र सृजनात्मक क्षमतालाई पूर्ण उपयोग हुने गरी सहकारी संघ/संस्थाको पूँजीलाई सहकारी उद्यम विकासमा अधिकतम परिचालन गर्ने पनि सम्मेलनले घोषणा गरेको छ ।

सहकारी संघ/संस्थाको वस्तु तथा सेवालाई प्रतिस्पर्धी बनाउन सहकारी शिक्षा तथा नविनतम प्रविधिको प्रयोगमा व्यापकता ल्याउने तथा सहकारीमा युवा उद्यमशीताका नतिजाहरुको तथ्याङ्क एकिकृत गरी सहकारीको सक्षमता प्रदर्शन गर्ने घोषणापत्रमा उल्लेख छ ।

सहकारी युवा उद्यमशीलतालाई व्यापक बनाउन र उत्पादन तथा उत्पादकत्व बृद्धि एवं रोजगारी सिर्जना गर्न सार्वजनिक, निजी र सहकारी साझेदारी मोडेललाई प्रभावकारी बनाउने सम्मेलनले घोषणा गरेको छ ।


SHARE THIS