सोमबारदेखि राजधानीमा तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुँदै

काठमाडौं । लघुवित्त वित्तीय संस्थामा क्षेत्रमा सचेतना जगाउने उद्देश्यले सोमबारदेखि राजधानीमा तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ ।

स्वाबलम्बन विकास केन्द्रको संयोजनमा चैत २८ र २९ गते काठमाडौं हुन लागेको सम्मेलनमा लघुवित्त कार्यक्रम सञ्चालन गरेका दुई सय वटा संस्थाहरुबाट छ सय जना सदस्य तथा संस्था प्रतिनिधिहरुको सहभागीता रहने शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

सम्मेलनमा ७९ वटा लघुवित्त वित्तीय संस्था र १५० वटा सहकारी संस्थाहरुले ७७ वटै जिल्लामा पुगेर लघुवित्त सेवा प्रदान गरी रहेको र उनीहरू सम्मेलनमा सहभागी हुने केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले जानकारी दिनुभयो ।

लघुवित्त वित्तीय संस्थाहरुको मात्र ४३० अर्ब रुपियाँभन्दा बढी कर्जा लगानीमा भएको र जसमध्ये ३७१ अर्ब रुपियाँ खुद्रा र ६९ अर्ब थोक कर्जा प्रदायक लघुवित्त संस्थाहरुले लगानी गरेको उहाँले जानकारी दिनुभयो । २०७५ सालसम्म २७ लाख मानिसले लघुवित्त सेवा प्राप्त गरेको केन्द्रको दाबी छ ।

तीन वर्षको अवधिमा लघुवित्त सेवा प्राप्त गर्नेहरुको संख्या शतप्रतिशत भन्दा धेरै बढेको केन्द्रले जनाएको छ । करिब ५४ लाख ५० हजार महिला तथा एक लाख ५० हजार पुरुषहरुले यो सेवा प्राप्त गरेको तथा मुलुकभर चार हजार ९६५ शाखा मार्फत २३ हजार २८१ लघुवित्तकर्मीहरु लघुवित्त सेवामा संलग्न रहेको दाबी संस्थाको रहेको छ । ‘घर घरमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाउँ’ भन्ने मूल नारासहित तेस्रो सम्मेलनको आयोजना गरिन लागेको केन्द्रका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सम्मेलनमा सहभागी सदस्यहरुलाई कार्यक्रम पश्चात स्वच्छ लघुवित्त अभियानमा सहभागी गराई गाउँगाउँमा परिचालन गरिने जनाउँदै केन्द्रले समाजका विपन्न र पिछडिएको वर्गको आर्थिक तथा सामाजिक उत्थानका लागि भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।

सामुदायिक विकास कार्यक्रमको माध्यमबाट मुलुकभरका दुर्गम तथा विकट जिल्लाका बासिन्दाहरुको आर्थिक तथा सामाजिक उत्थानमा सहयोग पुर्‍याउँदै समेत केन्द्रले जनाएको छ । यसका साथै बैंकिङ सुविधाबाट बञ्चित भई आफ्नो सीप परिचालन गर्ने अवसर पाउन नसकेका विपन्न परिवारका मानिसहरु, खासगरी महिलाहरुलाई स्वावलम्बन बैंकिङ कार्यक्रमको माध्यमबाट विभिन्न आयमूलक कार्यक्रमका लागि बिना धितो स–साना कर्जा सेवा उपलब्ध गराउँदै आएको केन्द्रले जनाएको छ । केन्द्रले सन् २०११ मा आफ्नो सम्पूर्ण लघुवित्त कार्यक्रम बैंकलाई हस्तान्तरण गरिसकेको जनाउँदै गुणस्तरीय, मागमा आधारीत र सुलभ मुल्यमा नेपालको लघुवित्त क्षेत्रलाई तालिम प्रदान गर्ने मुख्य रणनीति रहेको पनि केन्द्रले जनाएको छ ।

वर्तमान समयमा केन्द्रले लघुवित्त क्षेत्रेलाई सुदृढीकरण गर्ने आफ्नो कार्ययोजना विस्तार गर्दै विभिन्न विकास बैंक, लघुवित्त विकास बैंक, सहकारी सस्थां एवं वित्तीय मध्यस्तता गर्ने गैरसरकारी सस्थां तथा ‘क’ वर्गका बैंकहरुलाई लक्षित गरी समय समयमा तालिम प्रदान गर्दै आइरहेको जनाएको छ ।

आगामी दिनहरुमा केन्द्रले उच्च गुणस्तरीय तालिम प्रदान गर्ने, समय सापेक्ष वार्ता कार्यक्रमहरु सञ्चालन गर्ने तथा लघुवित्त क्षेत्र सम्बन्धि विभिन्न अनुसन्धान गर्ने दृढ संकल्पका साथ अगाडी बढिरहेको केन्द्रका अध्यक्ष श्रेष्ठले बताउनुभयो । सोही अवधारण अनुसार तीन वर्षमा ३० लाख विपन्न परिवारमा लघवित्त सेवा विस्तार गरेको समेत जनाइएको छ । लघुवित्तको सिद्धान्त मर्म एवं भावना अनुरुप विपन्नहरु पनि ऋण योग्य हुन सक्छन्, विपन्नलाई कर्जा सेवाबाट आर्थिक समुन्नति तिर उन्मुख बनाउन, आत्म सम्मान र स्वाभिमानसँग बाँच्न सक्ने हैसियत बनाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेको केन्द्रका अध्यक्ष श्रेष्ठको दाबी छ ।


SHARE THIS