मुलुकको अर्थतन्त्र श्रीलंकाजस्तो संकटको अवस्थामा छैन, अर्थतन्त्रमा देखिएको चूनौति क्रमिक रुपमा समाधान गर्न सकिन्छ

काठमाडौं । मुलुकको अर्थतन्त्र श्रीलंकाजस्तो संकटको अवस्थामा नरहेको  नेपाल राष्ट्र बैंकले स्पष्ट पारेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले श्रीलंकाको आन्तरिक र बाहृय ऋण जिडीपीको ११७ प्रतिशत ऋण रहेकाले हामीसँग तुलना नहुने भन्दै भन्नुभयो – ‘वैदेशिक रोजगारीको अवस्था हेर्दा, रेमिट्यान्सको आधार पक्कै हो । त्यसले के संकेत गरेको छ भने भोलि नेपालको रेमिट्यान्स राम्रै हुन्छ । अर्थतन्त्रको पक्ष सकारात्मक छन् । समन्वयात्मक ढंगले काम गर्ने हो भने अर्थतन्त्रमा देखिएको चूनौति क्रमिक रुपमा समाधान गर्न सक्छौं ।’ कतिपय वैदेशिक ऋण सहयोगलगायत विदेशी विनिमय सञ्चितिका स्रोतलाई पहिल्याउन सकियो भने नेपालको अर्थतन्त्र सही बाटोमा जान सक्ने उहाँको भनाई थियो ।

आजको अवस्थामा अर्थतन्त्र भयावह नभएको र अर्थतन्त्रका आधार त्यति कमजोर नभएको भन्दै उहाँले भन्नुभयो – ‘हाम्रो अर्थतन्त्रका उज्यालो पक्ष पनि रहेको छ । यी आधारले गर्दा अहिले देखिएको दबाबलाई पनि भोलि सम्बोधन गर्न सकिन्छ ।’

रिपोर्टर्स क्लब नेपालले बिहीबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो – ‘हाम्रो आजको अवस्थामा अर्थतन्त्र भयावह छैन् । अर्थतन्त्रका आधार त्यति कमजोर छैनन् । हाम्रो अर्थतन्त्रका उज्याला  पक्षपनि छन् । यी आधारले गर्दा अहिले देखिएका दबाबलाई पनि भोलि सम्बोधन गर्न सकिन्छ ।’

नेपालको मुद्रा स्फितिमा पनि समस्या परेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘अहिले सार्वजनिक मुद्रा स्फितिमा दबाब परेको छ । चाप परेको छ । अमेरिकामा मुद्रा स्फिति दुई प्रतिशत भैरहेको हुन्थ्यो, अहिले अमेरिकामा मार्चको ईन्फ्लेशन ८ देखि १० प्रतिशत पुग्छ कि भन्ने आँकलन आईरहेको छ । विकसित मुलुकपनि अहिले मूल्यबृद्धिको चापमा परेका छन् । उनीहरु विदेशी मुद्रा स्फितीको चापमा परेका छन् । किनभने म्यानुफ्याक्चरिङको आपूर्ति प्रभावित भएको छ, पेट्रोलियम पदार्थको मूल्यबृद्धि पनि भएको छ । विदेशी विनिमय सञ्चिती पनि प्रभावित भएको छ । श्रीलंका र पाकिस्तानजस्तो मुलुकहरु विदेशी विनिमय सञ्चितिको दबाबमा छन् । हामी पनि दबाबमा छौं ।’

अर्थतन्त्र चलाउने कुरामा चूनौती थपेको भन्दै उहाँले मुद्रा स्फितिको चाप अन्तर्राष्ट्रिय परिस्थितिको कारणले गर्दा भएको बताउनुभयो । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएकोतर्फ ध्यानाकर्षण गर्दै प्रवक्ता भट्टले त्यसको परिणामस्वरूप हामीकहाँ पनि मूल्यवृद्धि हुने प्रवृत्ति रहेको बताउनुभयो ।

उद्योगहरुको कञ्चा पदार्थको आपुर्ति हुन नसकेको तथा विदेशी विनिमय सञ्चिती गत वर्षभन्दा उल्लेखनीय घटेको जानकारी दिंदै उहाँले भन्नुभयो – ‘गत वर्ष हामीसँग १२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने सञ्चिती थियो । अहिले त्यो घट्दै गएको छ । अहिले साढे छ महिना धान्नसक्ने अवस्थामा छ ।

शोधान्तरण स्थिति र ब्यालेन्स अफ पेमेन्ट हेर्दा नेपालबाट बाहिर रकम बढि गएको भन्दै प्रवक्ता भट्टले भन्नुभयो ‘यो भनेको विदेशी विनिमय सञ्चितीमा दबाब हो । शोधान्तरण स्थिति, नेपालबाट कति रकम बाहिर गयो ? र नेपालमा कति रकम बाहिरबाट अयो ? भन्ने कुरा हेर्द शोधान्तरण स्थिति २४७ अर्बले घाटामा रहेको छ । यो भनेको विनिमय सञ्चिती घटेको हो । भोलि खाद्यान्न, औषधीहरु आयातमा प्रभावित हुँदैन त ? भन्ने चिन्ता बढेको छ। विदेशी विनिमय सञ्चितीलाई प्राथमिकतामा राख्नुपर्छ । राष्ट्र बैंकले पेट्रोलियम पदार्थको किफायती गर्न सकिन्छ ? सुन/चाँदीको आयात रोकौं । विदेशी सञ्चितीमा ठूलो दबाब पर्दा भोलि औषधी नै किन्न पनि समस्या हुनसक्छ ।’

अहिलेको नेपालको अर्थतन्त्रको अँध्यारो पक्षमात्रै नभएको दाबी गर्दै प्रवक्ता भट्टले भन्नुभयो – ‘आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किएका छन् । वस्तु, सेवा र कर्जाको माग बढेको छ । यो पक्षलाई पनि हामीले बिर्सिनुहुँदैन । अर्थतन्त्र नर्मल अवस्थामा आएको हुनाले पनि आयात बढेको हो । केही वस्तुको आयात भने हामीले केही समय रोक्नुपर्छ । अर्थतन्त्रलाई सही तवरले अघि बढाउनुपर्छ । पर्यटन क्षेत्र सलबलाउन थालेको छ । प्रत्यक्ष विदेशी लगानी राम्रो आएको छ । यो वर्षको आठ महिनाको तथ्याङ्क हेर्दा साढे १६ अर्ब आएको छ । गत वर्ष १९ अर्बमात्रै आएको छ । यो आर्थिक वर्षको आठ महिनामा १६.५ अर्ब आएको छ, यो राम्रो कुरा हो । अर्को भनेको रेमिट्यान्स एउटा महत्वपूर्ण स्रोत हो ।’

बैंकिङ क्षेत्रमा तरलता अभावको अवस्था रहेको भन्दै उहाँले राष्ट्र बैंकले करिब ५४ खर्ब स्थायी तरलता सुविधा पटक–पटक दिएको र अहिले पनि दुई खर्ब भन्दा बजारमा लगानी रहेको बताउनुभयो । तीन खर्ब जति प्रत्येक दिन तरलताको लागि दिएको भन्दै उहाँले तरलतामा दबाब रहेको अवस्था विस्तारै अब सुधार आउनसक्ने बताउनुभयो ।


SHARE THIS