बैंक तथा वित्तीय संस्थाहरु संकटका बेला बढी नाफामुखी हुने होइन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संकटका बेला पनि बढी नाफामुखी हुने प्रवृत्ति त्याग्न बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गर्नुभएको छ ।

बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) को सोमबार राजधानीमा आयोजित दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले संकटका बेला बढी नाफामुखी हुन नहुने बताउनुभयो ।

बैंक तथा वित्तीय संस्थाहरूले गरेको मागबमोजिम ३० प्रतिशत करबाट केही घटाउन सकिने भन्दै अर्थमन्त्री शर्माले भन्नुभयो ‘संकट परेको बेला पनि बढी नाफा लिनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ कि पर्दैन ? संकटका बेला उद्योगधन्दालाई पनि बचाउनुपर्छ, जनतालाई पनि बचाउनुपर्छ र बैंकलाई पनि बचाउनुपर्छ भन्ने सबैको भावना हुनुपर्‍यो । यो भावना देखिएको छैन । संकटका बेला मिलेर एकले अर्कालाई बचाउने हो ।’

मुलुकको गार्हस्थ उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्दै उहाँले संकटका बेला सरकार, निजी क्षेत्रलगायतले एकले अर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । ‘मुख्य समस्या संकटका बेला पनि बढी नाफा लिनुपर्छ भन्ने प्रवृत्ति हो’, उहाँले भन्नुभयो, ‘यो प्रवृत्तिगत समस्यालाई समाधान गर्नको लागि एकअर्काका समस्या बुझेर सहयोग गर्नुपर्छ ।’

अर्थमन्त्री शर्माले दक्षिण कोरियालगायतका मुलुकमा शाखा खोल्न बैंकहरुलाई आग्रह गर्नुभयो । कोरिया, जापान, इजरायललगायतका मुलुकबाट अनौपचारिक माध्यमबाट रेमिट्यान्स आउने गरेको सूचना प्राप्त भएको भन्नुहुँदै उहाँले ती मुलुकमा शाखा खोल्न आग्रह गर्नुभएको हो । त्यसले रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री शर्माले व्यवसाय पनि विशिष्टिकृत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बैंकिङ क्षेत्र तथा उद्योग क्षेत्र पनि एकै व्यक्तिले सञ्चालन गर्दा गोलमटोल भएको भन्दै उहाँले विशिष्टिकरण गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो – ‘आफूले आफैँलाई ऋण दिने/लिने देखिएको छ, यसले गर्दा ब्याजलगायतका तथ्याङ्क सही रूपमा आएनन् ।’

विद्यमान तरलताको अभाव एक महिनाभित्र समाधान हुने भन्दै उहाँले पछिल्लो समय देखिएको तरलताको चाप माघभित्र समाधान हुने भनाइ राख्नुभयो । ‘अर्थतन्त्रमा केही चाप परेको पक्कै हो, तर बाहिर प्रचार गरिएजसो संकट आइसकेको छैन । सचेत हुने अवस्थामा चाहिँ छ । तरलताको जुन अभाव देखिएको छ, यो माघभित्र समाधान हुने गरी कार्य अघि बढाइएको छ ।’ – उहाँले भन्नुभयो । कोभिड १९ का कारण दुई वर्षसम्म व्यवसाय गर्न नपाएका व्यवसायीले वित्तीय संस्थाहरूबाट एकैपटक ठूलो परिमाणमा ऋण प्रवाह हुँदा यस्तो चाप परेको उहाँले बताउनुभयो ।

बैंकले व्यवसायीलाई ऋण उपलब्ध गराएपछि निश्चित समयसम्म ब्याज नबढाउनसमेत आग्रह गर्नुभयो । ऋण लिएर व्यवसाय थालनी गरेको केही समयमै बैंकहरूले ब्याज बढाउने गरेको गुनासो मन्त्रालयमा आउने गरेको भन्दै उहाँले त्यसो नगर्न आग्रह गर्नुभयो । त्यसले गर्दा व्यवसाय असफल हुने उहाँको भनाइ थियो ।

यसैगरी पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट तीब्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो अपनाउन नहुने भन्दै उहाँले लकडाउन गर्दा मुलुकको अर्थतन्त्र संकटग्रस्त हुने भएकाले लकडाउन गर्न नहुने कुरा दोहोर्‍याउनुभयो । ‘फेरि लकडाउन हुन्छ कि भन्ने आशंका कतिपयमा रहेको छ’, उहाँले भन्नुभयो, ‘अब हामी लकडाउनको बाटो अपनाउनु हुँदैन । फेरि लकडाउनको बाटो अपनायौँ भने हाम्रो अर्थतन्त्रले थेग्न सक्दैन ।’


SHARE THIS