सहकारीको ब्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

काठमाडौं । सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदर बृद्धिको चर्चा चलिरहेकै बेला भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ब्याजदर नबड्ने बताउनुुभएको छ । बरु कर्जाको ब्याजदर घटाएर सदस्य लगानीकर्ताहरुलाई सुविधा दिनुपर्ने उहाँको भनाई छ ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को शुक्रबार राजधानीमा आयोजित ११ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले पछिल्ला दिनहरुमा सहकारी संघ संस्थाहरु पैसा ब्याजमा लगानी गरेर खाने बैंक जस्तो भएको बताउनुुभयो ।

पछिल्ला दिनहरुमा सहकारी उद्देश्य बिहिन जस्तै भएको भन्दै उहाँले भन्नुुभयो - ‘सहकारीको मर्म के हो ? उद्देश्य तथा लक्ष्य के हो ? सहकारीको बाटो एकातिर छ तर संस्थाहरुको गन्तव्य अर्कै तिर भइरहेको छ । यसलाई रोक्न आवश्यक छ ।’

सहकारी संघ संस्थाहरु सदस्यहरुको बृद्धि विकासमा भन्दा पनि नाफा कमाउनेतर्फ उद्दत भएको तर्फ इंकित गर्दै मन्त्री श्रेष्ठले ब्याजदरमा कसेर सदस्य ठग्ने सहकारीको काम नभएको बताउनुुभयो । सन्दर्भ ब्याजदरकै विषयमा बोल्दै मन्त्री श्रेष्ठले बढाउने भन्दा पनि बरु घटाउनुपर्नेमा जोड दिनुुभयो ।

हाल सहकारीको सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत रहेको छ । बजारमा तरलता अभावको संकट पर्न थालेपनि सहकारी अभियन्ताहरु उक्त सन्दर्भ ब्याजदरलाई समय सापेक्षा अब कम्तिमा पनि दुुई प्रतिशत बृद्धि गर्नुपर्ने माग गरिरहेका छन् ।


SHARE THIS