विदेशी मुद्रा सन्चिती घट्दै गएपछि राष्ट्र बैंकले आयात गर्दा राख्नुपर्ने मार्जिन रकम बढायो

काठमाडौं । विदेशी मुद्रा सन्चिती घट्दै गएपछि अब १८ वस्तुको आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने भएको छ । यस्तै दुई वस्तुको आयातमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था भएको छ ।

चुलिँदो आयातका कारण विदेशी मुद्रा सन्चिती घट्दै गएपछि नेपाल राष्ट्र बैंकले आयात गर्दा राख्नुपर्ने मार्जिन रकम बढाएको हो । केही वस्तु आयात गर्दा बैंकमा शतप्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले सोमबार बैंकहरुलाई निर्देशन जारी गर्दै १८ वस्तुको आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ भने २ वस्तुको आयातमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गारका सामाग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामाग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामाग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचर जस्ता वस्तु आयातगर्दा शतप्रतिशत मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै गरी गाडी आयात गर्दा ५० प्रतिशत मार्जिन आयातकर्ताले राख्नुपर्ने व्यवस्था गरेको छ । विद्युतीय गाडी आयात गर्दा भने यस्तो मार्जिन राख्नुनपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

कात्तिक महिनासम्म देशको शोधनान्तर घाटा एक खर्ब ५० अर्ब पुगेको छ भने कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ४७ करोड अमेरिकी डलर रहेको छ । यो सञ्चितिले ७.२ महिनाको वस्तु तथा सेवा आयातमात्र धान्ने विदेशी सन्चिती रहेको छ ।


SHARE THIS