बैंक तथा वित्तीय संस्थामा पहुँच तथा साधन बागमतीमा केन्द्रित, कर्णाली प्रदेशमा न्यून

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालनका दृष्टिले अन्य प्रदेशका तुलनामा बागमती प्रदेशमा बढी केन्द्रित रहेको एक अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालन बागमती प्रदेशमा अधिक देखिएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा न्यून देखिएको हो  ।

राष्ट्र बैंकले गरेको ‘नेपालको संघीय संरचना अन्तरगत वित्तीय क्षेत्रको स्रोत परिचालन’ विषयक अध्ययन प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्यामध्ये सबैभन्दा बढी (३४ प्रतिशत) बाग्मती प्रदेशमा र सबैभन्दा कम (४ प्रतिशत) कर्णाली प्रदेशमा रहेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८.१ प्रतिशत र कुल कर्जाको ५६.६ प्रतिशत बागमती प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा निक्षेप परिचालन र कर्जा प्रवाह दुबै न्यून रहेको देखिएको छ ।

अध्ययनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय पहुँच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखिएको छ भने बैंक तथा वित्तीय संस्थाहरु पनि बागमती प्रदेश केन्द्रित रहेको छ ।

अध्ययन प्रतिवेदनले प्रदेशगत आधारमा वित्तीय संस्थाहरूको पहुँच, निक्षेप परिचालन र कर्जा प्रवाहको स्थिति विश्लेषण गर्नुुका साथै गरिब, विपन्न, बेरोजगार र महिलालगायतले सञ्चालन गरेका व्यवसाय प्रवद्र्धन गर्न कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा तथा पुनरकर्जा सुविधाको समेत प्रदेशगत विश्लेषण गरिएको छ ।

वित्तीय पहुँच र साधन परिचालनको विश्लेषणमा सम्पूर्ण बैंक तथा वित्तीय संस्था, गैरबंैकिङ वित्तीय संस्था र सहकारी संस्थाहरूसमेत समेटिने भए तापनि अध्ययन वाणिज्य बंैक, विकास बैंक र वित्त कम्पनीको शाखा विस्तार र कारोबारमा केन्द्रित रहेको छ ।

पछिल्ला वर्षहरूमा बागमती प्रदेशको तुलनामा अन्य प्रदेशमा साधन परिचालन क्रमिक रूपमा विस्तार भइरहेको अध्ययनले देखाएको छ । सहुलियतपूर्ण कर्जा र पुनरकर्जाको पहुँच बाग्मतीबाहेकका प्रदेशहरूमा उत्साहजनक रूपमा बढेको छ । औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकताप्राप्त क्षेत्र कर्जाको वितरण क्रमिक रूपमा सन्तुलित हुँदै गएको छ । वित्तीय पहुँच न्यून रहेका प्रदेशहरूमा साधन परिचालन अभिबृद्धि गर्न माग पक्षमा सुधार गर्नुपर्ने खाँचो अध्ययनले औल्याएको छ ।


SHARE THIS