लखनउमा नेपाली कलाकृतिको चारदिने प्रदर्शनी

 लखनउ, कार्तिक २५ गते । नेपाली प्रकृति, संस्कृति तथा सामाजिक जनजीवन झल्किने कलाकृतिको चारदिने प्रदर्शनी सुरु भएको छ । मंगलबारदेखि भारतको लखनउ अलिगञ्जस्थित कला स्रोत आर्ट ग्यालरीमा आठ जना नेपाली कलाकारको कला प्रदर्शनी सुरु भएको हो । ‘माउण्टेन स्याडो’ शीर्षकमा भएको उक्त प्रदर्शनीको भारतका प्रसिद्ध कलाकार प्रा.जयकृष्ण अग्रवालले प्रदर्शनीको उद्घाटन गर्दै नेपाल भारतको सम्बन्धलाई कला र संस्कृतिले जोडेको बताए । उनले नेपाली कलामा मौलिक परम्परासँगै सामाजिक सांस्कृतिक विषय रहेको विचार व्यक्त गरे । प्रा. अग्रवालले प्रदर्शनीमा राखिएका कलाकृतिले नेपालको सांस्कृतिक पहिचान तथा प्रकृतिलाई चिनाउन मद्दत गरेको धारणा राखे । नेपालबाट कलाकार केशव राज खनालको उक्त प्रदर्शनीको संयोजन गरेका थिए । खनालले नेपाल भारतबीचको सम्बन्धलाई कला र कलाकारले जोडेको बताए । उनले कोरोना कहरपछि नेपाली कलाकारको पहिलो पटक भारतमा सामूहिक कला प्रदर्शनी भएको जनाए । उनले भने, ‘कोरोना कहरपछि सुस्ताएको नेपालको पर्यटनलाई यो कला प्रदर्शनीले सहयोग गर्ने आशा राखेका छौं ।’



करिब चार दर्जन कलाकृति राखिएको उक्त प्रदर्शनीमा

प्रदर्शनीमा नेपालका कलाकार केशव राज खनाल, देवेन्द्र थुम्केली, कृष्णगोपाल श्रेष्ठ, चन्द्रश्याम डंगोल, रवीन्द्र मानन्धर, रवी मिश्र, मनोज तामाङ योञ्जन र रिक गुरुङका कलाकृति रहेका छन् ।
आर्ट क्युरेटर रवी सोनीले प्रदर्शनीमा राखिएका नेपालका दृश्यचित्रले कलामा यसको महत्व र आवश्यकता अझै विशिष्ट रहेको बताए । उनले भने, ‘कला सिक्ने विद्यार्थीका लागि समेत यो प्रदर्शनी निकै प्रेरणादायी रहेको मैले महशुस गरेको छु ।’
प्रदर्शनीको भारततर्फ संयोजन गरेका भारतीय कलाकार अमित कुमारले नेपाल र भारतका कलाकारलाई प्रदर्शनीले नजिक ल्याउन सफल भएको धारणा राखे । उनले नेपाल र भारतबीच कलामार्फत सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउनुपर्नेमा जोड दिँदै आगामी दिनमा दुई देशका कलाकारबीच कला कार्यशाला तथा बहस गर्नुपर्ने बताए ।
कला स्रोत आर्ट ग्यालरीका डाइरेक्टर मानुषी डीडवानियाले नेपालको प्राकृतिक सौन्दर्य र संस्कृति झक्लिने कलाकृतिले सम्बन्धलाई मजबुत बनाउन सकेको बताइन् । उनले भनिन्, ‘कला र कलाकारमार्फत दुई देशबीच रहेको कलालाई बुझ्न सघाउ पुगेको छ ।’
प्रदर्शनीमा नेपाल ललितकला पत्रकार समाजका अध्यक्षसमेत रहेका कलाकार खनालले सगरमाथा, अन्नपूर्ण, माछापुच्छ«े लगायतका हिमाल तथा काठमाडौं उपत्यकाका सांस्कृतिक विषय झक्लिने कलाकृति राखेका छन् । कलाकार चन्द्रश्याम डंगोलले नेपालका परम्परागत ढुंगेधारा, चैत्य तथा बुद्ध मूर्ति राखेका छन् । कलाकार रवीन्द्र मानन्धरले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदा तथा दृश्यचित्र राखेका छन् भने कलाकार कृष्णगोपाल श्रेष्ठले नेवार संस्कृति, ढुंगेधारा तथा पुरातात्विक सम्पदा झल्किने विषयका कलाकृति राखेका छन् । कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीले माछापुच्छ«े, अन्नपूर्ण हिमाल तथा सांस्कृतिक सम्पदाका विषयका चित्र राखेका छन् । यस्तै, पोखरेली कलाकार रिक गुरुङ तथा मनोज तामाङ योञ्जनले माछापुच्छ«े, अन्नपूर्ण, आमादब्लाम, सगरमाथा लगायतका हिमालका चित्र र सांस्कृतिक सम्पदा झल्किने कलाकृति राखेका छन् ।
यस्तै, कलाकार तथा कार्टुनिस्ट रवि मिश्रले दैनिक जनजीवन, सांस्कृतिक तथा सम्पदाका विषयका चित्र प्रदर्शनीमा राखेका छन् । प्रदर्शनीमा लखनउ कला महाविद्यालयका भूतपूर्व प्रिन्सिपल पी राजीव नयन, अग्रज कलाकार उमेशकुमार सक्सेना, कलाकार राजन श्रीपाद फुलारी, उमेन्द्रप्रताप सिंह, मोहम्मद सकिल, बीबीडी विश्वविद्यालयका मोहित अग्रवाल लगायतका कलाकारको उपस्थिति रहेको थियो ।
कला स्रोत आर्ट ग्यालरीका संस्थापक अनुराग डीडवानियले यो प्रदर्शनीले कलाकार, कलापारखी तथा कलादर्शकको मन जित्न सफल भएको महशुस गरेको बताए । उनले नेपाली कलाकारले बनाएका कलाकृति निकै आकर्षक र राम्रो रहेको जिकिर गरे । उनले भने, ‘नेपाली कलाकारका कलाबाट यहाँका कलाकारले दृश्यचित्र तथा परम्पराका बारेमा धेरै कुरा सिक्न सक्दछन् ।’
यस्तै अग्रज कलाकार राजन श्रीपाद फुलारीले नेपालबाट आएका कलाकार आफ्नो सभ्यता र नैसर्गिक सुन्दरतालाई कलात्मक रुपमा चित्र तथा मूर्तिमा उधिनेको भनाइ राखे । उनले चित्रले नेपालको प्राकृतिक सौन्दर्यलाई निकै सुन्दर ढंगले पस्केको बताए । उनले भने, ‘प्रदर्शनी लखनउका दर्शक र कला विद्यार्थीका लागि जलरङ सिक्नका लागि प्रेरणादायी छ ।’ प्रदर्शनी चार दिनसम्म चल्ने क्युरेटर सोनीले जानकारी दिए ।


SHARE THIS