घरेलु महासंघ बागमती प्रदेशको अधिवेशन हेटौंडामा

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ, बागमती प्रदेशको अधिवेशन आगामी मङ्सिर १ गते प्रदेश राजधानी हेटौंडामा आयोजना हुने भएको छ ।

बागमती प्रदेशको शुक्रबार राजधनीस्थित महासंघको केन्द्रिय सचिवालयमा बसेको बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनको तयारीका लागि घरेलु तथा साना उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष तारा चौलागाईंको अध्यक्षतामा मुल व्यवस्थापन समिति, सुवर्ण श्रेष्ठको संयोजकत्वमा आवास, भोजन तथा हल व्यवस्थापन समिति र गीता कडरिया मैनालीको संयोजकत्वमा अतिथि सत्कार तथा मञ्च व्यवस्थापन समिति गठन गरिएको छ ।

बैठकमा महासंघका अध्यक्ष श्याम गिरी, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिह, उपाध्यक्ष तथा बागमती प्रदेश प्रमुख सुर्य कँडेल, महासचिव डम्बर रेग्मी, कोषाध्यक्ष सत्यनारायण प्रजापति तथा बागमती प्रदेशअन्तरगतका जिल्ला अध्यक्षहरुको सहभागिता रहेको थियो ।


SHARE THIS