विकास बैंकहरुमा कर्जा प्रवाह बढ्दै, निक्षेप सङ्कलन सुस्त

काठमाडौं । कर्जा प्रवाह बढाउँदै गएका ख वर्गका विकास बैंकहरुको निक्षेप सङ्कलन भने तुलनात्मक रुपमा सुस्त गतिमा बढेको छ ।

पछिल्लो एक सातामा तीन अर्ब १४ करोडले कर्जा विस्तार गरेका विकास बैंकहरुको निक्षेप संकलन ७३ करोड रुपियाँले मात्रै बढेको छ । भदौ महिनाको चौथो सातामा विकास बैंकहरुको निक्षेप तथा कर्जा दुबैको आकार भने बढेको छ ।

राष्ट्रियस्तरका विकास बैकहरुले एक सातामै करिब पौने तीन अर्ब भन्दा बढी कर्जा प्रवाह बढाएका छन् । समिक्षा अवधिमा विकास बैंकहरुले दुई अर्ब ८९ करोड १६ लाख रुपियाँले कर्जा बृद्धि गरेको डेभलपमेण्ट बैंकर्स एसोसिएसनले जनाएको छ । भदौ २५ गतेसम्ममा विकास बैंकहरुले तनि खर्ब ६८ अर्ब ८० करोड ५० लाख रुपियाँ कर्जा प्रवाह गरेका छन् ।

जुन गत साताभन्दा करिब शून्य दशमलब ७९ प्रतिशतले बढी हो । एक सातामा राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप भने ९८ करोड २१ लाख रुपियाँले मात्र बृद्धि भएको हो । भदौ २५ गतेसम्म कुल राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप चार खर्ब १६ अर्ब ३७ करोड ९२ लाख रुपियाँ रहेको छ ।

क्षेत्रीयस्तरका विकास बैंकहरुको निक्षेप बृद्धि दर शून्य दशमलब ३५ प्रतिशतले घटेको छ भने ऋण शून्य दशमलब ३८ प्रतिशतले बढेको छ ।

डेभलपमेण्ट बैंकर्स एसोसिएसनका अनुसार क्षेत्रीय विकास बैंकहरुको निक्षेप गत हप्ता ७२ अर्ब १७ करोड रुपियाँ रहेकोमा भदौ २५ सम्म पुग्दा क्षेत्रीय विकास बैंकहरुको निक्षेप ७१ अर्ब ९१ करोड रुपियाँ पुगेको छ । ६७ अर्ब १७ करोड रहेको कर्जा भदौ २५ सम्म पुग्दा २५ करोड ८२ लाख रुपियाँले बढेर ६७ अर्ब ४३ करोड रुपिया कर्जा पुगेको छ ।

ख वर्गका १५ वटा विकास बैंकहरुको निक्षेप एक हप्तामा बढेर ४८९ अर्ब २८ करोड रुपियाँ पुग्दा ऋण भने ४३६ अर्ब २३ करोड रुपियाँ पुगेको छ । समग्रमा ७३ करोड १४ लाख रुपियाँले निक्षेप बृद्धि हुँदा गर्दा कर्जा भने ३ अर्ब १४ करोड ९९ लाख रुपियाँले कर्जा बृद्धि गरेका छन् ।


SHARE THIS