दशैंका लागि नयाँ नोट सोमबारदेखि

काठमाडौं । आउँदै गरेको दशैंको लागि नयाँ नोट साट्ने गर्नुभएको छ ? छ भने आगामी सोमबारदेखि नयाँ नोट साट्न पाउनुहुने भएको छ । नजिकिँदै गरेको वडा दशैंलगायतका चाडपर्वमा नयाँ नोट लिन खोज्नेले असोज ४ गते सोमबारदेखि पाउने भएका छन् ।

नजिकिँदै गरेको वडा दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सर्वसाधरणको लागि असोज ४ गतेदेखि नयाँ नोट वितरण गर्न लागेको हो ।

राष्ट्र बैंकले बालुवाटारस्थित प्रधान कार्यालयका साथै आफ्ना सबै क्षेत्रीय कार्यालयबाट सर्वसाधारणलाई नयाँ नोट सटही गर्ने व्यवस्था गर्दैछ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्र बैंकले दशैं आउनुभन्दा झण्डै तीन साता अगाडिबाट नोट सटही गर्ने तयारी गरेको हो ।

कोरोना महामारीको कारण हुने भिडभाडलाई कम गर्न राष्ट्र बैंकले अघिल्ला वर्षहरुमा भन्दा अगाडि नै नोट वितरण गर्न थालेका हो । विगतका वर्ष नौरथा लागेपछिमात्र नयाँ नोट वितरण गर्दै आइएको थियो ।

सर्वसाधरणको लागि असोज ४ गतेदेखि असोज २४ गतेसम्म नयाँ नोट वितरण गर्न लागको जानकारी दिंदै राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले बैंक तथा वित्तीय संस्थालाई भने एक साता अगाडिबाटै नयाँ नोट दिन थालिएको बताउनुुभयो ।

बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट पठाएको राष्ट्र बैंकले यस वर्षका लागि १० अर्ब रुपियाँ बराबरको नयाँ नोट वितरण गर्ने अनुुमान सहितको तयारी गरेको छ ।

एक जनालाई १८ हजार पाँच सय रूपियाँ बराबरको पाँच, १०, २०, ५० र १०० रुपियाँका  साथै आवश्यकताका आधारमा ५०० र १००० का नयाँ नोट पनि वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोट सटही गरिने राष्ट्र बैंकले जनाएको छ । पाँच, १०, २०, ५० र १०० रुपियाँका एक एक बण्डल नोटको जोड कुल १८ हजार पाँच सय रुपियाँ हुुन आउँछ ।


SHARE THIS