सेजनका नव निर्वाचित पदाधिकारीहरुलाई घरेलु महासंघले गर्‍यो स्वागत

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) का नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुका लागि स्वागत कार्यक्रम आयोजना गरेको छ ।

महासंघको माइतीघरस्थित सचिवालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै सेजनका नवनिर्वाचित अध्यक्ष जनार्दन बरालले उद्यमशीलताको विकास, वित्तीय साक्षरता र नीतिको वकालतमा महासंघ र सेजनले मिलेर काम गर्न सकिने उल्लेख गर्नुभयो ।

महासंघका अध्यक्ष श्याम गिरीले विगतमा खुला अर्थतन्त्रको हिमायती बन्न खोज्दा धनी र गरिब बीचको खाडल झन बढ्न पुगेको अवस्था र महासंघ समेतको पहलमा अहिले आएर राज्यले आंशिक मात्रै भए पनि तल्लो तहका जनताहरुलाई सहुलियतपुर्ण कर्जाको माध्यमबाट पूँजी उपलब्ध गराएर उद्यमी बनाउने र उत्पादन बढाउने आंशिक नीति अवलम्बन गरेको परिप्रेक्ष्यमा अहिले कृषी, महिला र युवा उध्यमशिलता र लघु, घरेलु र साना उद्योगको क्षेत्रमा केहि सकारात्मक अवसर श्रृजना भएको हुँदा यो अवसरलाई लक्षित समुदायसम्म पुर्‍याउन सेजन र महासंघले मिलेर काम गर्न सकिने बताउनुभयो ।

यसका लागि छिट्टै नै दुबै संस्थाको महासचिव स्तरमा पदाधिकारीहरुको बैठक आयोजना गरि कामको थालनी गर्ने प्रस्ताव पनि उहाँले राख्नुभयो ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधान, वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंह, उपाध्यक्ष हरिहर थापा, महासचिव डम्बर प्रसाद रेग्मी, कोषाध्यक्ष सत्यनारायण प्रजापतिलगायतको सहभागिता रहेको थियो । यस्तै सेजनका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।


SHARE THIS