एनआरएनएको अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा, नागरिकता, श्रमिक अधिकार र मताधिकारको अधिकार मुख्य एजेन्डा

काठमाडौँ / गैरआवासीय नेपाली सङ्घ एनआरएनए आइसिसीको आसन्न निर्वाचनमा अध्यक्षको रूपमा वर्तमान कार्यसमिति उपाध्यक्ष समेत रहेकी रविना थापाले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

उहाँसँगै उपाध्यक्षमा बेलायतका जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले समेत उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । थापा एनआरएनएमा अध्यक्षमा उम्मेदवारी दिने दोस्रो महिला हुनुहुन्छ । उहाँले आफ्नो उमेद्धवारीको घोषणा गर्न बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गैर आवासीय नागरिकता, श्रमिक अधिकार, लगानी र युवा तथा महिलाको सशक्तीकरणलाई मुख्य चुनावी एजेन्डा बनाएको बताउनुभयो । “एनआरएनएमा रहेको अर्को महत्त्वपूर्ण एजेन्डा भनेको नागरिकता हो ।” उहाँले भन्नुभयो “अहिले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाएको छु ।”

यसै गरी उहाँले विदेशबाट मताधिकार र दोहोरो करका विषयलाई समेत प्रमुखताका साथ उठाउने बताउनुभयो । सर्वोच्च अदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको र त्यसलाई पुर्णरुपमा कार्यान्वयनमा ल्याउन दबाब दिने थापाले बताउनुभयो । “लाखौँ नेपाली विदेशमा काम गरेर देशमा रेमिटेन्स पठाइरहेका छन् । उनीहरूलाई त मतदानको अधिकारबाट वञ्चित गर्नु हुँदैन भन्ने हो ।” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो । दोहोरो करका सम्बन्धमा पनि गैरआवासीय नेपालीले करमा छुट पाउनुपर्छ भन्ने उहाँको चुनावी नारा रहेको छ ।

अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी थापाले वर्तमान कार्यसमितिमा एनआरएनएका सबै सदस्यले नेतृत्व चुन्न पाउनु पर्ने माग गरे पनि अल्पमतमा पारिएको बताइन । ‘सङ्घमा अहिले १ लाख ५ हजार सदस्य छन्, उनीहरू सबैले नेतृत्व चयनमा मतदान गर्न पाउनु पर्ने व्यवस्था गर्न माग गरे,’ थापाले भन्नुभयो, अब निर्वाचित हुने मेरो नेतृत्वले सबैलाई मतदानको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउछु ।

उहाँले पहिलो पटक सङ्घको अध्यक्ष महिलालाई निर्वाचित गराउन अपिल समेत गर्नुभयो ।

उहाँ सहित उहाँको समूहमा रहेका अधिकारी र गुरुङले वैदेशिक रोजगारीमा जानेका लागि उनीहरूको हित र भूतपूर्व गोर्खा सैनिकको अधिकारमा काम गर्ने बताउनुभयो  । 

विदेशमा रहेका दोस्रो पुस्तालाई नेपालको कला संस्कुती, धर्म, आर्थिक क्रियाकलाप, प्रविधि, लगानी, ज्ञानलाई नेपालसँग निरन्तर जोडी रहन नागरिकताको विषयमा सबै गैरआवासीय नेपालीले आवाज उठाउनुपर्ने थापा समूहको भनाई छ ।

थोरै आम्दानी गर्नेलाई पनि लगानीको अवसर

नेपालमा लगानी गर्ने विषय सबै गैरआवासिय नेपाली साझा नारा हो । थापा समूहले भने विदेशका साना साना लगानीलाई ल्याएर समूहमा लगानी गर्ने योजना रहेको बताएको छ । “थोरै थोरै पैसा सङ्कलन गरेर यहाँ ठुलो क्षेत्रमा लगानी गर्ने सम्भावना धेरै रहन्छ ।” अध्यक्षकी उम्मेदवार थापाले भनिन “जसरी भए पनि हामीले साना साना व्यवसायलाई सहयोग गर्ने भन्ने योजना सहित पुँजी सङ्कलन गर्ने योजना रहेको छ ।”

उहाँले विदेशमा हासिल गरेका सीपलाई व्यावसायिकीकरण गर्ने योजना समेत रहेको बताउनुभयो । विदेशबाट एक जना नेपालीले सिकेर आएको सिपलाई यहाँ आएर अन्यलाई तालिम दिएर धेरै जनालाई सिपयुक्त बनाउन सकिने उहाँको भनाई छ । विदेशमा नेपालीले सिकेको ज्ञान र सिपलाई एनआरएनएले नेपालसँग जोडन समेत आफूले धेरै काम गरेको बताउनुभयो । विदेशमा रहेका एनआरएनएले सिकेको सीप र ज्ञान उनीहरूले ल्याएको पूँजीभन्दा ठुलो विषय भएको थापा समूहको भनाई छ । थापाको उम्मेदवारी घोषणा कार्यक्रममा एनआरएनए एनसीसी सदस्यहरू जापानबाट ओम गुरुङ, अमेरिकाबाट प्रेम श्रेष्ठ र कृष्ण जीवी पन्थले समर्थन गर्ने घोषणा गरेका छन् ।


SHARE THIS