लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्न सञ्चय कोषलाई सुुझाव

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषलाई लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्न सुुझाव दिनुुभएको छ ।

कोषको ६० औं वार्षिकोत्सव समारोहको भर्चुअल रुपमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । ‘सञ्चयकर्ताहरुको पैंसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ जसले राष्ट्रिय पूूँजी निर्माणमा सहयोग पुर्‍याउँछ ।’ उहाँले भन्नुभयो – ‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सृजना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ ।’ उहाँले सञ्चयकर्ताहरुको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई  सञ्चयकर्ताहरुको लागि सहज वातावरण सृजना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल सरकारका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोष सञ्चालक समितिका अध्यक्ष कृष्णहरि पुष्करले सञ्चय कोष योगदानका अतिरिक्त विगत दुुई वर्षदेखि सञ्चालनमा रहेको योगदानमा आधारित निबृत्तभरण कोषमा संकलित करिब चार खर्ब ४४ अर्ब बराबरको स्रोतको कुशल व्यवस्थापन गर्न सफल भई विश्वसनीय संस्थाको रुपमा सबैको विश्वास जितेको बताउनुभयो ।

त्यसैगरी सञ्चयकर्ताको सन्तुष्टि र समृद्धि नै कोषको पहिलो लक्ष्य रहेको साथै कोषको समग्र गतिविधि एवम् नीति तथा कार्यक्रम यसै लक्ष्यबाट निर्देशित हुनुपर्ने र कोषमा रहेको वित्तीय स्रोतको समुचित परिचालन गरी प्राप्त प्रतिफलको समन्यायिक वितरण गर्नुपर्ने कुरा बताउनुभयो । कर्मचारी सञ्चय कोष ऐन र निबृत्तभरण कोष ऐनलाई एकिकृत गरी एउटै ऐनको आवश्यकता देखिएको उहाँले बताउनुभयो ।

कोषका निमित्त प्रशासक जितेन्द्र धितालले सञ्चयकर्ताको योगदान रकमको कुशल व्यवस्थापन तथा परिचालनबाट प्राप्त प्रतिफलको न्यायोचित वितरण गर्ने एवम् सेवा प्रवाहमा गुणामत्मक सुधार गर्दै सञ्चयकर्ताको हित र सन्तुष्टिप्रति कोष परिवार सदैव क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले कोषको वर्तममान अवस्था, आर्थिक वर्ष २०७७/७८ मा भएको प्रमुख उपलब्धीहरुको समिक्षा र कोषको भावी योजना र प्रतिबद्धता सम्बन्धी विवरण प्रस्तुत गर्नुभयो । सो अवसरमा कोषका पूर्व प्रशासक कृष्ण प्रसाद आचार्य एवम् कोषमा क्रियाशील तीन वटा कर्मचारी युनियनका अध्यक्षहरुले शुभ–कामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष पुष्करले कोभिड १९ संक्रमण जोखिमका कारण भौतिक रुपमा उपस्थित हुन नसकेका कोषमा २५ वर्ष सेवा अवधि पूरा गरेका २२ जना कर्मचारीलाई प्रदान गर्ने दिर्घसेवा पदक र प्रमाणपत्रहरु एवम् २०७७ सालको एस.ई.ई. परिक्षामा उतिर्ण हुने कोषमा कार्यरत कर्मचारीहरुका आठ जना छोरा/छोरीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गर्न कोषका निमित्त प्रशासक जितेन्द्र धिताललाई एकमुष्ठ रुपमा हस्तान्तरण गर्नुभयो ।

कर्मचारी सञ्चयकोष ऐन २०१९ अनुसार वि.सं.२०१९ भदौ ३१ गते स्थापना भएको कर्मचारी सञ्चय कोषमा हाल ५ लाख ९८ हजार सञ्चयकर्ताहरुको सञ्चय कोष ३९८ अर्व ६ करोड र योगदानमा आधारीत निवृत्तभरण कोष एक अर्ब ५८ करोड गरी जम्मा ४४४ अर्व भन्दा बढीकोे वित्तिय स्रोत रहेको छ ।

उक्त रकमबाट कोषले सञ्चयकर्ताको सेवाकालिन आवश्यकता पूर्ति गर्नको लागि विशेष सापटी, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी र सञ्चयकर्ता सरल चक्र कर्जा जस्ता सापटी सुविधाहरु प्रदान गरिरहेको छ भने मुनाफा रकमबाट सामाजिक सुरक्षण कोष खडा गरी प्रसुती स्याहार, क्रिया खर्च, दुर्घटना क्षतिपूर्ति र सञ्चयकर्ता स्वास्थ्योपचार योजना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यसै सन्दर्भमा कोषले सञ्चयकर्ताहरुको लागि बिहीबारदेखि सञ्चयकर्ता घरजग्गा खरिद कर्जाको शुरुवात समेत गरेको छ ।

यसैगरी कोषले मुलुकको पूर्वाधार विकासको लागि विभिन्न जलविद्युत कम्पनीहरु माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत कम्पनीद्धारा प्रबर्धित विभिन्न जलविद्युत आयोजनाहरु लगायत अन्य आयोजनाहरुमा ऋण लगानी गरिरहेको छ भने नेपाल बायु सेवा निगमलाई विमान खरिद गर्न ऋण लगानी गरेको छ । यस्तै कोषले अधिकांश सेयर स्वामित्व सञ्चयकर्ताहरुको रहने गरी बेतन कर्णाली जलविद्युत आयोजना निर्माण प्रकृयाको शुरुवात गरेको छ ।

सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७/७८ सम्म चार खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चय कोषमा तीन खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । निवृत्तभरण कोषमा एक अर्ब ५८ करोड छ । कोषको दायित्व चार अर्ब ६७ करोड रहेकोे छ ।

सामाजिक सुरक्षा योजनाअन्तरगत कोषले सञ्चयकर्ताहरुको लागि सात हजार पाँच सयका दरले दुुई पटकसम्म प्रसुती खर्च उपलब्ध गराउँछ । यस्तै सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अङ्गभङ्ग भएमा दुुई लाख रुपियाँ प्रदान गर्दछ ।

सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई एकमुष्ट ४० हजार रुपियाँ काजक्रिया खर्च उपलब्ध गराउँछ । यसैगरी कोषले सामान्य औषधोपचारको हकमा एक लाख तथा घातक रोगको हकमा १० लाख रुपियाँसम्मको उपचार खर्च सोधभर्ना गर्ने गरेको छ ।

वि.सं २०१९ साल भदौ १९ गते कोषको स्थापना हुनुभन्दा अगाडि वि.सं.१९९१ मा सैनिक द्रव्य कोष, वि.सं.२००१ मा निजामती प्रोभिडेण्ट फण्ड र  वि.सं.२०१७ मा सञ्चयकोष विभागको नाममा यसको काम कारबाही सञ्ञ्चालन गरिएको थियो ।


SHARE THIS