चालु अवको पहिलो महिना पूँजीकरण ४४१४ अर्ब, यो साता ११ अर्बले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना धितोपत्र बजार पूँजीकरण ४४१४ अर्ब रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधीको तुलनामा यस्तो बजार पूँजीकरण झण्डै साढे दुुई गुणाले बढेको हो । २०७७ साउन मसान्तमा बजार पूँजीकरण १८३७ अर्ब रुपियाँ रहेको थियो ।

२०७८ साउनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, पाँच होटल, चार व्यापारीक संस्था, पाँच लगानी कम्पनी र तीन अन्य समूहका रहेका छन् ।

२०७७ साउनमा सूचीकृत कम्पनीहरूको संख्या २०८ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.२ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ९.८ प्रतिशत, लगानी कम्पनीको ८.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारीक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ७.८ प्रतिशत रहेको छ ।

नेप्सेमा २०७८ साउनसम्ममा सूचीकृत पाँच अर्ब ८५ करोड सेयरको चुक्ता मूल्य ५७५ अर्ब ५० करोड रुपियाँ रहेको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा १३ अर्ब ७५ करोड रुपियाँ बराबरको डिबेन्चर, दुुई अर्ब ८८ करोड बराबरको साधारण सेयर, ५७ करोड ३९ लाख बराबरको बोनस सेयर र ५२ करोड ४१ लाख बराबरको हकप्रद सेयर गरी कुल १७ अर्ब ७३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले तीन अर्ब रुपियाँ बराबरको म्युचुअल फण्ड, एक अर्ब ५७ करोड बराबरको साधारण सेयर र २४ करोड ३३ लाख बराबरको हकप्रद सेयर गरी कुल चार अर्ब ८२ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

यो साता साढे ११ अर्बले बढ्यो

यो साताको कुल बजार पूँजीकरण ११ अर्ब ४० करोड ८० लाख ९० हजार रुपियाँले बढेको छ । गत साता ३९ खर्ब ३५ अर्ब ७४ करोड १० लाख ८९ हजार रहेको कुल बजार पूँजीकरण यो साता ३९ खर्ब ४७ अर्ब १५ करोड ७९ हजार पुुगेको हो ।

चार दिन कारोबार भएको यो साता २९ अर्ब ७६ करोड ३८ लाख ७० हजार बराबरको छ करोड चार लाख ७३ हजार १६३ कित्ता सेयर कारोबार भएको छ । गत साता भने ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार बराबरको सात करोड चार लाख ४७ हजार ७१७ कित्ता सेयर कारोबार भएको थियो । यो साता गत साताभन्दा नौ अर्बले कमी हो ।

व्यापारीक समूहको सर्वाधिक ३.७७ प्रतिशत, जलविद्युतको ३.१० प्रतिशतले घटेको यो साता लगानी समूह २.४३ प्रतिशत, म्युचुअल फण्ड २.१९, अन्य २.०९, निर्जीवन बीमा १.४३, होटल्स तथा पर्यटन १.२७, वित्त १.२०, जीवन बीमा ०.६३, लघुवित्त ०.३८ प्रतिशत र विकास बैंक ०.०७ प्रतिशतले घटेको  छ ।

गत साताको अन्तिम कारोबार दिन २८१२.३९ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २८१९.६६ विन्दुमा पुगेर बन्द भएको छ । गत साताभन्दा यो साता नेप्से परिसूचक ७.२८ अंकले बढेको हो । यस्तै सेन्सेटिभ इन्डेक्स पनि यो साता ४.२४ अंकले बढेको छ । गत साता ५२५.७८ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५३०.०२ विन्दुमा पुगेको हो ।


SHARE THIS