बैंकहरुमा ४८ अर्ब निक्षेप, १०८ अर्ब रुपियाँ कर्जा प्रवाह

काठमाडौं । भदौ महिनामा बैंकहरुमा ४८ अर्ब निक्षेप संकलन हुँदा १०८ अर्ब रुपियाँ कर्जा प्रवाह भएको छ । बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो महिना भदौससम्ममा ४१ खर्ब ७१ अर्ब निक्षेप संकलन गरी ३८ खर्ब ७२ अर्ब रुपियाँ कर्जा लगानी गरेका छन् ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २७ बैंकहरुबाट ७८ अर्ब रुपियाँ निक्षेप घटेको थियो । साउन महिनामा उल्लेख्य रुपमा बैंकिङ प्रणालीबाट पैसा झिकिनुका साथै कर्जा विस्तार पनि सोही गतिमा भएपनि भदौ महिनामा बैंकहरुमा तरलता अभावको समस्या जटिल बन्दै गयो ।

कोरोनाका कारण ठप्प भएको आर्थिक गतिविधिले गति लिएसंगै बैंकहरुको कारोबार पनि बढ्न थालेको छ । बैंकमा कर्जाको माग तथा साउन महिनाको तुलनामा निक्षेप पनि थपिन थालेको छ ।

भदौ महिनामा अन्तिम साता मात्र बैंकहरुको निक्षेप संकलन २६ अर्ब रुपियाँले बढेको छ । भदौ पहिलो साता सात अर्बले घटेको निक्षेप संकलन दोस्रो साता आठ अर्ब रुपियाँले बढेको थियो । तेस्रो साता चार अर्ब बढेको थियो भने चौथो साता १६ अर्ब रुपियाँले बढेको थियो । अन्तिम साता भने २६ अर्ब रुपियाँले बढेको हो । भदौ अन्तिम सातामात्रै बैंकहरुले २८ अर्ब कर्जा लगानी गरेका छन् भने अघिल्लो साता कर्जा लगानी २५ अर्ब रुपियाँले बढेको थियो ।

विकास बैंकहरुको निक्षेप एक सातामा साढे दुई अर्ब

सञ्चालनमा रहेका १५ विकास बैंकहरुको निक्षेप एक सातामा दुई अर्ब ४८ करोड रुपियाँले बढेको छ । गत साता चार सय ४९ अर्ब ३३ करोड रुपियाँ रहेको निक्षेप बढेर असोज १ गतेसम्ममा चार ४५१ अर्ब ८१ करोड रुपियाँ पुगेको छ । एक सातामा समग्र विकास बैंकहरुको कर्जा भने पाँच अर्ब ५१ करोड ८० लाख रुपियाँले बढेको छ ।

राष्ट्रियस्तरका विकास बैंकको कर्जा पाँच अर्ब ३९ करोड रुपियाँले बढेको छ । गत भदौ २६ मा ३६८ अर्ब ८० करोड रुपियाँ रहेको विकास बैंकको ऋण असोज १ गतेसम्म पुग्दा ३७४ अर्ब १९ करोड रुपियाँ पुगेको छ । साताभरमा निक्षेपको बृद्धिदर ०.५९ प्रतिशत रहेको छ भने ऋणको बृद्धिदर भने १.४६ प्रतिशतले बढेको छ ।

विकास बैंकहरुले गत हप्ता दुई अर्ब ४८ करोडले निक्षेप बृद्धि भएको छ । गत हप्ता ४१७ अर्ब ३६ करोड रुपियाँ निक्षेप रहेकोमा असोज १ गतेसम्ममा निक्षेप बृद्धि भएर ४१९ अर्ब ८४ करोड रुपियाँ पुगेको छ ।

क्षेत्रीय विकास बैंकहरुको निक्षेप गत साता ३१ अर्ब ९७ करोड ७७ लाख रुपियाँ रहेको थियो । असोज १ गतेसम्म पुग्दा घटेर ३१ अर्ब ९७ करोड ६९ लाख रुपियाँ पुगेको छ । क्षेत्रीय विकास बैंकको कर्जा भने १२ करोड ६६ लाख रुपियाँले बढेको छ । अघिल्लो साता २८ अर्ब आठ करोड रुपियाँ रहेको कर्जा असोज १ गतेसम्म बढेर २८ अर्ब २० करोड रुपियाँ पुगेको छ ।


SHARE THIS