चालु आवको पहिलो महिना चालु खाता झण्डै ४८ अर्बले घाटामा

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा चालु खाता ४७ अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २४ अर्ब ८९ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ७७ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २४ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३८.० प्रतिशतले कमी आई ६७ करोड ९७ लाख रुपियाँ रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६५.५ प्रतिशतले कमी आई ४८ करोड छ लाख कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर एक अर्ब १० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब ३९ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपियाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको छ ।

पहिलो महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७४ प्रतिशत रहेको छ ।

अघिल्लोको तुलनामा यो साउनमा घ्यू तथा तेल, गैर–मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य पदार्थ र यातायात उपसमुहको मूल्य बृद्धि क्रमश: २९.०७ प्रतिशत, १०.५१ प्रतिशत, १०.१२ प्रतिशत र ९.४३ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.७० प्रतिशत, तराईमा ४.११ प्रतिशत, पहाडमा ५.६३ प्रतिशत र हिमालमा ३.५८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ साउनमा यी क्षेत्रहरुमा क्रमश: ३.३१ प्रतिशत, ४.०२ प्रतिशत, २.७२ प्रतिशत र ४.०७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७८ असार मसान्तमा १३९९ अर्ब तीन करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.२ प्रतिशतले कमी आई २०७८ साउन मसान्तमा १३५३ अर्ब ८२ करोड रुपियाँ कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ साउन मसान्तमा २.८ प्रतिशतले कमी आई ११ अर्ब ४२ करोड रहेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ साउन मसान्तमा ३.१ प्रतिशतले कमी आई १२०६ अर्ब ५१ करोड रुपियाँ कायम भएको छ ।

बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रहेकोमा २०७८ साउन मसान्तमा ४.६ प्रतिशतले कमी आई रु.१४७ अर्ब ३१ करोड कायम भएको छ । २०७८ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.२ प्रतिशत रहेको छ । चालु आवको पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.३ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।

२०७८ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमश: ३१.७ प्रतिशत, ६९.४ प्रतिशत र २६.७ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमश: ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।


SHARE THIS