राष्ट्रिय वाणिज्य बैंकले पनि ल्यायो क्रेडिट कार्ड

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मङ्गलबारदेखि क्रेडिट कार्ड सेवा शुभारम्भ गरेको छ ।

बैंकले ग्राहकहरुको बदलिँदो चाहनालाई सम्बोधन गर्न एवं नगद कारोबारमा रहेको जोखिमलाई न्यूनीकरण गर्न मङ्गलबारदेखि क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गर्नुभयो ।
उहाँले ग्राहकको चाहना अनुसार नयाँ–नयाँ बैंकिङ प्रडक्टको अनुसन्धान गर्नुपर्ने बताउँदै यस्तो सेवाले ग्राहकको आर्थिक कारोबारमा सहजता हुने बैंकले विश्वास लिएको बताउनुभयो ।
बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले क्रेडिट कार्डको शुभारम्भ पछि पूर्ण डिजिटल बैंकिङतर्फ बैंक अगाडि बढिरहेकोे बताउँदै नेपाल, भारत र भुटानमा चल्ने यो सेवा बैंकका सबै शाखा कार्यालयबाट माग गर्न सकिने बताउनुभयो ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठले रा.वा. बैंकको पहिलो क्रेडिट कार्ड ग्राहक हुन पाउंदा खुशी लागेको बताउंदै बैंकको व्यवसाय विस्तारको लागि शुभकामना व्यक्त गर्नुभयो ।
समारोहमा उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले प्रतिस्पर्धी बजारमा सस्तो ब्याजदरमा दिइने क्रेडिट कार्ड ग्राहकको आयश्रोत एवं भुक्तानी क्षमताको आधारमा ग्राहकलाई २० हजारदेखि पाँच लाख रुपियाँसम्मको क्रेडिट लिमिट दिन सकिने बताउनुभयो ।
डिजिटल बैंकिङ विभागका प्रमुख ऋषिराम ढकालले क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ, तोकिएको सीमाभित्र रहेर नगद समेत झिक्न मिल्ने सुविधा रहेको बताउनुभयो ।
बैंकको हाल ७७ जिल्लामा २४७ वटा शाखा कार्यालय, २०९ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ रहेको छ ।
समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत सरस्वती अधिकारी, विभागीय प्रमुखहरु, बैंकमा क्रियाशील ट्रेड युनियनका अध्यक्षलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

SHARE THIS