सरकारलाई आन्तरिक ऋण उठाउन २६ अर्ब ५३ करोड रूपियाँ उठाउँदै राष्ट्र बैंक

काठमाडौं । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन नेपाल राष्ट्र बैंकले वित्तीय बजारबाट २६ अर्ब ५३ करोड रूपियाँ उठाउने भएको छ । सरकारलाई आन्तरिक ऋण उठाउन बैंकले सोमबार ट्रेजरी बिक्रीबाट सो रकम खिच्न लागेको हो ।

ट्रेजरी बिक्री मार्फत कुल संकलन गर्न लागेको २६ अर्ब ५३ करोड रुपियाँमध्ये १९ अर्ब तीन करोड रुपियाँ बराबरको ट्रेजरी बिक्री यसअघि जारी भइसकेको बीलको नवीकरण भएको राष्ट्र बैंकले जनाएको छ । बाँकी सात अर्ब ५० करोड रुपियाँ नयाँ संकलन गरिन लागेको हो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले २८ दिनको अवधिको लागि पाँच अर्ब, ९१ दिनको अवधिको लागि ११ अर्ब ५३ करोड र १८२ दिनको अवधिको लागि १० अर्ब रूपियाँ बराबरको ट्रेजरी बील बिक्री गर्न लागेको हो ।

मङ्गलबार जारी हुने ट्रेजरी बीलहरु क्रमशः २०७८ साल साउन ५ गते, २०७८ साल असोज ५ गते र २०७८ पुस ६ गते परिपक्क हुने राष्ट्र बैंकले जनाएको छ ।

एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बीलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्ने राष्ट्र बैंकले जनाएको छ । ट्रेजरी बीलको बोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ ।


SHARE THIS