अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान उच्चः गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले साना तथा घरेलु व्यवसायहरुको योगदान समग्र अर्थतन्त्रमा महत्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग सोमबार वेबिनारमार्फत आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो – 'संसारभरी नै एमएसएमईज र एसएमइजको भूमिका हेर्ने हो भने संख्यात्मक हिसाबले त झण्डै ९९ प्रतिशत नै देख्छौँ भने अर्थतन्त्रमा योगदान पनि धेरै अर्थपूर्ण रहन्छ ।’

त्यही हिसाबले नेपाल राष्ट्र बैंकले पनि आफ्नो पोलिसी, आफ्ना नीतिहरुमा प्राथमिकता दिंदै आएको छ । गत सालको मौद्रिक नीतिमार्फत हामीले वास्तवमा ऐतिहासिक परिवर्तन नै ल्याउन खोजेका छौं । त्यो प्रयास हाम्रो रह्यो नीतिगत हिसाबले धेरै हदसम्म उपलब्धी हासिल भएको छ ।

सहुलियतपूर्ण कर्जा पनि प्रत्येक शाखामा १० वटा आवेदन आउनुपर्ने र सँगसँगै कुल कर्जाको १५ प्रतिशत एक करोड भन्दा साना कर्जाहरुमा जानुपर्ने व्यवस्था गरि पुर्नरकर्जामध्ये पनि ७० प्रतिशत पुनकर्जा १५ लाख भन्दा सानालाई दिने गरि व्यवस्था गरिएको छ ।

योभन्दा अगाडि साना उद्योगीले पुनकर्जा लिएको इतिहास नै छैन । गत साल मात्रै १५ लाखभन्दा साना व्यवसायी लगभग ४२ हजारले पुनकर्जा पाउनुभयो । त्यो महत्वपूर्ण उपलब्धि हो हाम्रो नयाँ पोलीसीको जस्तो लाग्छ ।

पुनकर्जा भनेको नेपाल राष्ट्र बैंकले नै सबै फाइनान्सिङ गर्ने होइन, अहिले हाम्रो टोटल लोनको आकार ४१ खर्ब पुगेको छ । जम्मा क ख ग वर्गका बैंक तथा वित्तीय संस्था रहेका छन् । ४१ खर्ब नै राष्ट्र बैंकले दिएर ब्याज सहुलियत दिने भन्ने हुँदैन राष्ट्र बैंकका आफ्नै सीमा छन् ।

हाम्रो प्रयास भनेको धेरैभन्दा धेरै ऋणीको, व्यवसायीको आत्मबल कसरी बढाउन सकिन्छ । उहाँहरु बीचबीचमा आएका उतारचढावको कारणले आफै एउटा स्टेजमा पुगसकेको व्यवसायबाट फेरी भासिन पुग्ने, हराउनुपर्ने स्थिति नआओस् । त्यहाँ कसरी नीतिगत हिसाबले हामीले कसरी सघाउन सकिन्छ भनेर गरेको राष्ट्र बैंकले गरेको एउटा इमानदार प्रयास थियो ।

यसमा खासगरी व्यवहार र प्रक्रियामा सोंचे जस्तो भएन बैंकहरुले अलिकति व्यवसायमिैत्री व्यवहार गरेनन् भन्ने कुरा हामीलाई बीचबीचमा बारम्बार नआएको होइन त्यसभित्र कैयौँ व्यवहारीक समस्याहरु हामीले पनि महसुस गरेका हौँ । यस्ता कुरालाई क मगर्ने प्रयास गरेका छौं र धेरै हदसम्म सुधार भएको छ ।

महासंघका अध्यक्ष श्याम गिरीले उद्योगीहरुले लिएको कर्जामा निषेधाज्ञा अवधिको ब्याज मिनाहा गर्नुपर्नेमा जोड दिनुभयो ।

साना उद्योगीको हकमा पुनकर्जा सम्बन्धी कार्यविधिलाई पुनलेखन गर्नुपर्ने जरुरी रहेको भन्दै उहाँले पुनकर्जा कार्यविधि पुनलेखन कार्यमा घरेलु महासंघलाई पनि सहभागी गराइनुपर्ने बताउनुभयो ।

केही बैंकहरुले पुनकर्जा कार्यविधि तथा मौद्रिक नीतिमा लेखिएका शब्दहरुलाई केलाएर केही बैंकका शाखाहरुले साना उद्योगीहरुलाई निरुत्साहित गर्ने गरेको गुनासो राख्दै उहाँले भन्नुभयो – कृषि उपज र प्रशोधन सम्बन्धी उद्योग भनेको छ । तर धान, चामल र च्युराजन्य उद्योगका लागि पुनकर्जाको लागि जाँदा तपाइहरुको त कार्यविधिमा लेखेकै छैन भनिन्छ । बैंकका यस्ता व्यवहारले साना व्यवसायीहरुलाई सा-है पीडित बनाएको छ ।’

राष्ट बैंकले मौद्रिक नीतिमार्फत गरेका व्यवस्थाहरुलाई वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लागु गर्ने सन्दर्भमा भावनात्मक हुन नसकेको, संवेदनशील हुन नसकेको हामीले बुझेका छौं ।’ उहाँले भन्नुभयो ।

महिला उद्यमीको हकमा सहुलियत कर्जा नै पाइएन भन्ने धेरै गुनासो रहेको भन्दै अध्यक्ष गिरीले भन्नुभयो – अघिल्लो वर्ष राष्ट्र बैंकले निर्देशित गर्दैगर्दा पनि धेरै बैंकले लागु गर्न सकेनन । उहाँहरुका पनि वाध्यता थिए होलान । ती वाध्यताका बीच पनि हाम्रो अर्थतन्त्र उकास्नुपर्ने सन्दर्भमा महिला उद्यमीलाई उपेक्षा ग¥यौं भने अर्थतन्त्रले गति लिंदैन ।’

सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधान, पूर्व अध्यक्ष लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिँहलगायतको सहभागिता रहेको थियो ।

राष्ट्र बैंकका तर्फबाट पनि डेपुटी गर्भनरद्घय बमबहादुर मिश्र, डा. निलम तिमिल्सिना, प्रवक्ता देवकुमार ढकाललगायत विभिन्न विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो ।


SHARE THIS