बजार पूँजीकरण ४१ खर्ब ३९ अर्ब २८ करोडमाथि, ४७ अर्ब २० करोडले बढ्यो

काठमाडौं । यो साता कुल बजार पूँजीकरण रकम ४७ अर्ब २० करोड ७० लाख ८८ हजार अर्थात १.१५ प्रतिशतले बृद्धि भएको छ । गत साताको अन्तिम दिन ४० खर्ब ९२ अर्ब आठ करोड ६५ हजार रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ४१ खर्ब ३९ अर्ब २८ करोड ८० लाख ५३ हजार कायम भएको छ ।

अघिल्लो साताको तुलनामा यो साता कारोबार रकममा भने केही कमी आएको छ । अघिल्लो साताको तुलनामा यो साताको कारोबार रकम एक अर्ब ७८ करोड रुपियाँले कम हो । यो साता आठ लाख १५ हजार १३६ पटकको कारोबारमा ८१ अर्ब ३५ करोड रुपियाँ बराबरको १५ करोड १७ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । यस साताको कारोबार रकम गत साताको तुलनामा १ अर्ब ७८ करोड कम हो ।

यो साता नेप्सेले नयाँ रेकर्ड बनाउँदै साताको पहिलो कारोबार दिन हालसम्मकै उच्च विन्दु ३०२५.८३ मा बन्द भएको थियो । नेप्से परिसूचक करिब एक प्रतिशत बढेको यो साता २९६८ को विन्दुमा पुगेर रोकिएको छ । गत साता २९४४.७८ विन्दुमा बन्द भएको नेप्से यो साता २३.६५ अंक अर्थात ०.८० प्रतिशत बढेर २९६८.४३ विन्दुमा पुगेको हो ।

यो साता १३ उपसमूहका परिसूचकमध्ये छ उपसमूहको परिसूचक बढेको छ भने बाँकी सात उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.२४ प्रतिशत बढेको छ । गत साता ३५४९.३७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता २२१.५५ अंक बढेर ३७७०.९२ विन्दुमा पुगेको छ ।

व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.८१ प्रतिशत घटेको यो साता अंकका आधारमा जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४६७.३३ अंक घटेको छ ।

मोस्ट पपुलर बाइ स्टकको सूचीमा एभरेष्ट इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर, गोर्खाज फाइनान्स, आईसीएफसी फाइनान्सको ऋणपत्र, नेपाल दूरसञ्चार कम्पनी लगायतका कम्पनीहरु परेका छन् । साताको मोस्ट पपुलर सेल स्टकको सूचीमा सिटिजन्स म्युचुअल फण्ड २, नारायणी डेभलपमेन्ट बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक लगायतका कम्पनीहरु परेका छन् ।

वैशाख मसान्तमा पूँजीकरण ३७२४ अर्ब ५५ करोड

चालु आर्थिक वर्षको वैशाख मसान्तमा धितोपत्र बजार पूँजीकरण ३७२४ अर्ब ५५ करोड रुपियाँ पुगेको छ । २०७७ असार मसान्तमा बजार पूँजीकरण १७९२ अर्ब ७६ करोड रुपियाँ रहेको थियो । २०७८ बैशाखमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, पाँच होटल, चार व्यापारिक संस्था, चार लगानी कम्पनी र तीन अन्य समूहका रहेका छन् ।

यस्तै २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँंजीकरणको हिस्सा ६८.३ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ८.४ प्रतिशत, लगानी कम्पनीको ७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारीक संस्थाको हिस्सा ०.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.६ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ वैशाखसम्ममा सूचीकृत पाँच अर्ब ७० करोड सेयरको चुक्ता मूल्य ५६० अर्ब ८८ करोड रुपियाँ रहेको छ । आर्थिक वर्ष २०७७÷७८ को दश महिनासम्ममा दुई खर्ब १९ अर्ब ९५ करोड बराबरको विकास ऋणपत्र, ४१ अर्ब ३३ करोड बराबरको साधारण सेयर, ४३ अर्ब २० करोड बराबरको बोनस सेयर, १४ अर्ब ५५ करोड बराबरको डिबेन्चर, पाँच अर्ब ५२ करोड बराबरको हकप्रद सेयर र दुई अर्ब ८५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल तीन खर्ब २७ अर्ब ४० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १७ अर्ब ५४ करोड बराबरको डिबेन्चर, १३ अर्ब ३४ करोड बराबरको साधारण सेयर, छ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड र तीन अर्ब पाँच करोड बराबरको हकप्रद सेयर गरी कुल ४० अर्ब ४३ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।


SHARE THIS