नेपाल धितोपत्र बोर्डको २९ औं वर्षमा, लगानीकर्ताको संख्या र लगानीको आकार पनि बढ्दै

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रुपमा लिएको बताउनु भएको छ । 

नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिकोत्सव कार्यक्रममा उहाँले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी पूँजी बजारको विस्तार हुने वातावरण तयार पार्न बोर्डलाई निर्देशन दिनुभयो ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख गरिएको वस्तु विनिमय बजार सुरु गरेन तथा कमीकमजोरी हटाइ बोर्डलाई गतिशील बनाउन पनि निर्देशन दिनु भएको थियो ।

अर्थमन्त्री पौडेलले पछिल्ला दिनमा लगानीकर्ताको संख्या र लगानीको आकार पनि बढेको बताउँदै भन्नुभयो ( ‘आगामी दिनमा लगानीका क्षेत्र र दायरा पनि फराकिलो हुने विश्वास व्यक्त गर्न चाहान्छु, यसका लागि पुँजी बजारको निकाय नेपाल धितोपत्र बोर्डलाई शुभकामना दिन चाहान्छु ।’

अर्थमन्त्री पौडेलले लगानीकर्ताको लगानीको सुरक्षित हुनुपर्नेमा जोड दिनुभयो । ‘लगानीकर्ताको लगानी सुरक्षित हुने, पुँजी बजार विस्तारित हुने र यसले समग्रतामा मुलुकको आर्थिक बृद्धिदर विस्तार गर्नका निम्ति पनि धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहने अपेक्षा पनि मैले गरेको छु,’ उहाँले भन्नुभयो, ‘बोर्डका अध्यक्ष भिष्म ढुगांनाको नेतृत्वले आउने दिनमा उल्लेखनिय उपलब्धि लाभ हासिल गर्ने छ । पुँजी बजारको व्यवस्थापन, नियमन र यसको दायरा विस्तार गर्ने सम्बन्धमा सशक्त र प्रभावकारी नेतृत्व प्रदान गर्नु हुने छ ।’ अर्थमन्त्री पौडेलले बोर्ड सशक्त र प्रभावकारी हुँदै जाने विश्वास पनि व्यक्त गर्नुभयो ।

अर्थमन्त्री पौडेलले पूँजी बजारमा नकारात्मक प्रभाव पार्ने खालको काम गर्न नहुने पनि बताउनुभयो । ‘कुनै प्रकारका अनियमितता खासगरी नकारात्मक प्रभाव पार्ने कुनै पनि क्रियाकलापहरु प्रवेश गर्न नपाउन भन्ने तर्फ विशेष ध्यान जाओस,’ उहाँले भन्नुभयो, ‘यसमा बोर्डको विशेष ध्यानाकर्षण गराउन चाहान्छु ।’

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटमा पूँजी बजारका सम्बन्धमा महत्वपूर्ण दृष्टिकोण अगाडि सारेको पनि बताउनुभयो ।

अर्थमन्त्री पौडेले आगामी आर्थिक वर्षभित्रमा वस्तु विनिमय बजारको आरम्भ गर्ने बताउनुभयो । ‘आगामी आर्थिक वर्षको बजेटमा वस्तु विनिमय बजारको आरम्भ गर्ने अठोट गरेका छौं,’ उहाँले भन्नुभयो,  ‘यसका निम्ति धितोपत्र बोर्डले अहिलेदेखि नै आवश्यक गृहकार्य गर्ने र समयमा बस्तु विनिमय बजारको आरम्भ गर्ने दिशातर्फको काम गर्ने छ भन्ने पनि यस अवसरमा अपेक्षा गर्न चाहान्छु ।’


SHARE THIS