उपत्यकामा फेरी १० दिनका लागि थपियो निषेधाज्ञा, खाद्यान्न, डिपार्टमेन्ट स्टोर र निर्माण सामाग्री दुवानी सञ्चालनमा खुला

काठमाडौं । काठमाडौं उपत्यका फेरी १० दिनका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्याकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले बुधबार निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेका हुन् ।

अब जेठ २१ गते बिहान १ बजेदेखि ३१ गते राति १२ बजेसम्म थप गरिएको निषेधाज्ञाको आदेशमा किराना तथा खाद्यान्न पसल सञ्चालन गर्न पाइने भएको छ । यसअघि पसल सञ्चालनमा रोक लगाइएको थियो ।

उपत्यकामा गत वैशाख १६ गतेदेखि आदेश जारी गरी अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाइँदै आइएको छ । यसपाली भने तरकारीलगायत किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) बिहान ९ बजेसम्मका लागि खुला गरिएको छ ।

अनलाइन बाहेकका शैक्षिक गतिविधिमा रोक लगाइएको छ भने अत्यावश्यक सेवा दिने बाहेकका कार्यालयका सेवा स्थगन गरिएको छ । अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माणका लागि आवासीय रुपमा श्रमिकलाई राखी स्वास्थ्य मापदण्डको पालना गरी काम गर्न सकिने छ । यसअघि उक्त कार्यमा समेत रोक लगाइएको थियो ।

निषेधाज्ञा अवधिमा सबै प्रकारका भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ । औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने नपाउने भएका छन् । सार्वजनिक एवं निजी सवारी साधन पनि सञ्चालन गर्न पनि नपाइने भएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन गर्न दिइने भएको छ ।

एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन खाना पकाउने ग्याँस, दूरसञ्चार इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन सरसफाइमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा, प्रिन्ट तथा सरकारी छापाखानालगायतका ढुवानी तथा यातायातका अत्यावश्यक सेवा  साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।

खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्यास, दूरसञ्चार इन्टरनेट, भेटेरिनरी, प्रिन्ट तथा सरकारी छापाखाना, सरसफाइमा प्रयोग गरिने सामग्री ढुवानीमा व्यानर राखेर राति ९ देखि बिहान ४ बजेसम्म गाडी सञ्चालन गर्न पाइने भएको छ ।

वााणिज्य बैँकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैँकको हकमा प्रधान कार्यालयसहित दुई शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी न्यूनतम जनशक्ति ९२० प्रतिशत० मात्र परिचालन गर्नुपर्ने छ । वित्त कम्पनीमा कर्पोरेट कार्यालय र धितोपत्र बोर्डमात्रै खुल्न पाइने छ ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, राहदानी, प्रवेशाज्ञा हुनेलाई सिधै विमानस्थल जाने सवारी साधनको हकमा सहजीकरण गरिने भएको छ । विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै ती कार्य गर्दा सात जनाभन्दा बढी उपस्थित हुन नपाइने र एउटा मात्रै गाडीको प्रयोग गर्नुपर्ने आदेशमा भनिएको छ । नित्य पूजा बाहेकका धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । मृत्यु संस्कारमा जान र आउनुपरेमा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस, परिचयपत्र खुल्ने कागजातसहित प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ ।


SHARE THIS