निषेधाज्ञामै चौधरी ग्रुपले शुरू ग-यो सिजी इन्टरनेट, ९९९ रुपियाँमा १२० एमबीपीएस

काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहरकै बीच चौधरी ग्रुपले इन्टरनेट व्यवसायमा पनि हात हाल्दै सिजी नेट सुरु गरेको छ । मंगलबारदेखि काठमाडौं उपत्यकामा सेवा सुरु गर्दैै सबैभन्दा छिटो र सस्तो सेवा उपलब्ध गराउने जनाएको छ ।

दूरसञ्चार क्षेत्रमा प्रवेश गरिसकेको सिजीलाई सरकारले थप फ्रिक्वेन्सी उपलब्ध नगराएपछि इन्टरनेट सेवामा प्रवेश गरेको हो ।

ललितपुरको जावलाखेल वरपरका उपभोक्ताहरुले तत्काल सेवा प्रयोग गर्न सक्ने सिजी नेटका कस्टमर एक्सपेरियन्स म्यानेजमेन्ट प्रमुख गणेश क्षेत्रीले जानकारी दिनुभयो । केही समयभित्रै उपभोक्ताहरुले देशैभर सेवा पाउने गरी कम्पनीले तयारी गरिरहेको उहाँले बताउनुभयो ।

सिजी नेटले उपभोक्ताहरुलाई सेवा प्रारम्भको अफरस्वरुप तत्काल १२० एमबीपीएसको प्याकेज मात्रै सार्वजनिक गरेको छ । यो प्याकेज एक, तीन, छ र १२ महिनामा उपलब्ध गराएको छ । आवासीय र व्यापारीक दुबै प्रयोजनका लागि उपभोक्ताहरुले यो सेवा जडान गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले उपभोक्तालाई उपलब्ध गराएको सबै प्याकेज खरिद गर्दा जडान र ड्रप–वायर (नजिकको प्वइन्टदेखि घरसम्म जोड्ने तार) को शुल्क भने तिर्नु नपर्ने जनाएको छ । सिजी नेटले उपभोक्ताहरुलाई १२० एमबीपीएस स्पीडको मूल्य एक महिनाको भ्याटबाहेक ९९९ रुपियाँ तोकेको छ । 

यो सँगै सिजीले हाल १२० एमबीपीएसको इन्टरनेट विभिन्न शुल्कमा उपलब्ध गराएको छ । जसमा मासिक ९९९ रूपियाँ, तीन महिनाको दुई हजार ९९७, छ महिनाको छ हजार ९९४ र एक वर्षको ११ हजार ९८८ शुल्क तोकिएको छ ।

यी प्याकेज खरिद गर्दा जडान र ड्रप वायर चार्जको शुल्क लाग्ने छैन् । माथिका मूल्यमा टिएससी शुल्क समावेश गरिएको छ । १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) लागु हुने कम्पनीले जनाएको छ ।


SHARE THIS