राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाई सञ्चालनमा ल्याउन नेप्सेलाई बोर्डले दियो निर्देशन

काठमाडौं । सेयर बजारमा पछिल्लो समय दैनिक कारोबार रकम बढ्दै जाने र समयमा नै राफसाफ हुन नसकेको भन्दै नियामक नेपाल धितोपत्र बोर्डले राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाउन निर्देशन दिएको छ ।

बोर्डले राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाई सञ्चालनमा ल्याउन नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लाई चार बुँदे निर्देशन दिएको हो ।

धितोपत्र सूचीकरण तथा कारोबार नियमाबली, २०७५ को नियम २७ को व्यवस्था बमोजिम स्थापना भएको कोषमा हालसम्म नगन्य रकम जम्मा भई राफसाफ सुनिश्चितता हुने गरी कार्यान्वयनमा आउन नसक्दा समयमा नै लगानीकर्तालाई धितोपत्र बिक्री वापतको रकम भुक्तानी हुन नसकिरहेको र धितोपत्रको दोस्रो बजार कारोबार दिनानुदिन बृद्धि भइरहेको भन्दै बोर्डले यस्तो निर्देशन दिएको हो ।

राफासाफ कोषमा निहित प्रणालीगत जोखिम (सिष्टमेटिक रिक्स) लाई न्यूनीकरण गर्न आवश्यक भएकोले धितोपत्र कारोवारलाई समयमा नै राफसाफ गराई बजारलाई व्यवस्थित र अनुशासित राख्न विद्यमान राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाउन आवश्यक देखिएको बोर्डको भनाइ छ ।

धितोपत्र बजार (स्टक एक्सचेञ्ज) ले व्यवस्था गर्ने राफसाफ कोषमा धितोपत्र बजार, धितोपत्रको राफसाफ सेवा प्रदान गर्ने संस्था र समान रुपमा सम्पूर्ण राफसाफ सदस्यहरु (धितोपत्र दलालहरु) को योगदान हुने गरी आर्थिक वर्ष २०७७/७८ भित्र ५० करोड रुपियाँ, आर्थिक वर्ष २०७८/७९ भित्र थप ३० करोड रुपियाँ र आर्थिक वर्ष २०७९/८० भित्र थप २० करोड रुपियाँ गरी कुल एक अर्ब रुपियाँ रकमको कार्यान्वयन योग्य कोष स्थापना र सञ्चालन गर्नुपर्ने छ ।

राफसाफ कोषमा धितोपत्र बजारले समग्रमा कोषको ५० प्रतिशत रकम, राफसाफ सेवा प्रदान गर्ने संस्थाले समग्रमा कोषको ३० प्रतिशत रकम र राफसाफ सदस्यहरु (धितोपत्र दलालहरु) ले समग्रमा कोषको २० प्रतिशत रकम बराबरको योगदान हुनुपर्ने बोर्डले जनाएको छ ।

रकमको अतिरिक्त कोषलाई जोखिममा आधारित हुने गरी सुदृढ बनाउन धितोपत्र बजार (कोष व्यवस्थापक) ले धितोपत्र दलालहरुको पछिल्लो महिनाको औषत दैनिक कारोबार रकमको एक प्रतिशत रकम चालु महिनाको १५ गतेभित्र थप गर्न लगाई गतिशील योगदानको रुपमा कोषमा जम्मा गर्नुपर्नेछ । यस बमोजिम थप रकम निर्धारण गर्दा मासिक रुपमा पुनरावलोकन गर्ने र यसरी थप गर्ने रकम पछिल्लो महिनाको गतिशील योगदान भन्दा धेरै भएमा फरक रकम मात्र राफसाफ कोषमा धितोपत्र दलालले थप योगदान गर्नुपर्नेछ ।

राफसाफ कोषको व्यवस्थापन सम्बन्धमा अन्तर्राष्ट्रिय प्रचलन अनुरुप हुने गरी धितोपत्र बजारले कोषको संचालक समितिको रुपमा र राफसाफ सेवा प्रदान गर्ने संस्थाले कोष व्यवस्थापकको रुपमा कार्य गर्नुपर्नेछ ।

तोकिएका सबै व्यवस्था कार्यान्वयनमा आएपश्चात् धितोपत्र कारोबारको रकम समयमै राफसाफ तथा फछ्र्यौट हुने सुनिश्चितता भई उक्त कार्य थप प्रभावकारी रुपमा यथासमयमा नै सम्पन्न हुने, धितोपत्र कारोवारमा निहित प्रणलीगत जोखिम न्यूनीकरण हुने, लगानीकर्ताले समयमा नै धितोपत्र बिक्री वापतको रकम प्राप्त गर्ने र धितोपत्र कारोबार थप गतिशील हुन सहयोग पुग्ने बोर्डको अपेक्षा छ ।


SHARE THIS