बैंक तथा वित्तीय संस्थाको मुद्दती र कल निक्षेपमा साढे ६४ करोड रुपियाँ लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं । बैंक तथा वित्तीय संस्थाको एक वर्षे अवधिको मुद्दती र कल निक्षेपमा नेपाल राष्ट्र बैंकले ६४ करोड ६३ लाख ५९ हजार रुपियाँ लगानी गर्न लागेको छ ।

मुद्दती निक्षेपमा ५१ करोड ४४ लाख ६२ हजार ९६० रुपियाँ र कल निक्षेपमा १३ करोड १८ लाख ९६ हजार ७४० रुपियाँ लगानी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट सञ्चालित विभिन्न आयोजनाहरूको रहेको रकम मुद्दति र कल निक्षेपमा राख्न लागेको हो ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दती तथा कल निक्षेपमा लागानी गरिने आइतबार जारी सर्कुलरमा उल्लेख छ । रकम लिन बैंक तथा वित्तीय संस्थाले  चाहेको रकम तथा रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाइ आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

लगानीका लागि प्रस्ताव गरिएको ब्याजदर खुलाई जेठ ११ गते बेलुका ४ बजेसम्म नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभाग बालुवाटारमा आवेदन दिन राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ ।

बैंकको निक्षेप स्वीकार गर्नका लागि संस्थाको कर्जा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको र रियल स्टेट कर्जा सीमा क्षेत्रभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन नाफामा रहेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित संस्थाको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई कुनै कारबाही गरेको अवस्थामा त्यस्तो व्यक्ति संस्थामा नरहेको हुनुपर्ने लगायतको शर्त राष्ट्र बैंकको छ ।

यस्तै बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, न्यूनतम पूँजीकोष कायम भएको हुनुपर्ने, खराब कर्जा कुल कर्जा सापटको पाँच प्रतिशत वा सोभन्दा बढी नरहेको हुनुपर्ने प्रावधान पनि राखिएको छ ।


SHARE THIS