आत्मनिर्भरतातर्फ उन्मुख सिमेन्ट उत्पादन, विदेशी लगानीका उद्योगको उत्पादन क्षमता उच्च

काठमाडौं । नेपालमा सञ्चालित सिमेण्ट उद्योगहरु आत्मनिर्भरतातर्फ उन्मुख रहेको एक अध्ययनले देखाएको छ । अहिले मुलुकमा सञ्चालित ५५ वटा सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्दा सिमेन्टमा आत्मनिर्भर हुन सकिने नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको हो ।

विदेशी लगानीका रहेका सिमेन्ट उद्योगहरुको प्रतिफल सन्तोषजनक रहेको निश्कर्ष निकाल्दै अध्ययनले यस्ता उद्योगहरुको नाफा सन्तोषजनक रहेको पनि देखाएको छ ।

नेपाली सिमेन्ट उद्योगमा वैदेशिक लगानीः आर्थिक सामाजिक प्रभावको अध्ययन सम्वन्धी राष्ट्र बैंकको सो अध्ययनले सरकारी र निजी स्वामित्व रहेका उद्योगहरुको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगहरुको सञ्चालन र मुनाफा राम्रो रहेको अध्ययनमा उल्लेख छ । विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता धेरै हुनुका साथै उत्पादन लागत न्यून भएकाले मुनाफा धेरै भएको अध्ययनले देखाएको हो ।

मुलुकमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको वाहुल्यता रहेको सन्दर्भमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको वस्तुस्थितिको तुलनात्मक स्थिति, स्वदेशी माग र आपूर्ति लगायत ती उद्योगहरुको सामाजिक तथा आर्थिक प्रभाव संलग्न गरी अध्ययन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

उद्योगहरुले पूर्ण क्षमतामा सिमेन्ट उत्पादन नगर्दा अहिले पनि केही मात्रामा सिमेन्ट आयात भईरहेको छ । मुलुकभर प्रत्यक्ष विदेशी लगानीमा तीन, सरकारी लगानीमा दुई र नीजि लगानीमा ५० गरी ५५ उद्योग सञ्चालनमा छन् । उल्लेखित उद्योगहरुको कुल जडित उत्पादन क्षमता एक करोड ५० लाख मेट्रिक टन रहेको छ भने आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार मेट्रिक टन रहेकोमा  उद्योगहरुबाट ७४ लाख ९० हजार मेट्रिक टन सिमेन्ट उत्पादन भएको छ । यता १५ लाख ६० हजार मेट्रिक टन आयात भएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।र्

मुलुकभित्रै सिमेन्ट उत्पादन बढ्दो क्रममा रहेकाले पछिल्ला केही वर्ष यता सिमेन्टको आयात घट्दै गइरहेको छ । स्थापित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयातमा थप कटौती आउने देखिन्छ । – अध्ययनमा भनिएको छ ।

नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपुर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवद्र्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुने अध्ययनले देखाएको छ ।

सिमेन्ट उद्योगको सञ्चालनबाट व्यापारिक र रोजगारीका अवसरहरु सिर्जना भएका छन् । उद्योग वरिपरि रहेका जमीनको मूल्य वृद्धिका कारण “वेल्थ इफेक्ट” लगायतका सकारात्मक प्रभावहरु परेको भएता पनि वातावरणीय प्रदुषण सम्वन्धी नकारात्मक असर पनि परेको प्रतिवेदनमा उल्लेख छ । जसका कारण सिमेन्ट उद्योगहरुलाई आवासीय क्षेत्रमा स्थापना गर्न निरुत्साहित गरिनुका साथै सामाजिक संस्थागत उत्तरदायित्व अनुरुप शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण आदीमा लगानी गर्न प्रोत्साहन गर्ने नीति अवलम्वन गर्नु आवश्यक रहेको औंलाइएको छ ।

अध्ययनका अनुसार विदेशी लगानी रहेका तीन, सरकारी स्वामित्व र निजी स्वामित्व रहेको क्रमशः दुई÷दुई गरी सात उद्योगहरुलाई समेटिएको छ । सिमेन्ट उद्योगको सामाजिक तथा आर्थिक प्रभावको विश्लेषणात्मक अध्ययनका लागि प्रत्येक उद्योगबाट कार्यकारी प्रमुख, दुई जना कर्मचारी र उद्योग वरपरका १० जना बासिन्दाहरुलाई उत्तरदाताको रुपमा चयन गरिएको थियो ।


SHARE THIS