अहिलेसम्मकै रेकर्ड ब्रेक गर्दै २८२० अंकको विन्दुमा पुग्यो सेयर बजार, कारोबार पनि उच्च

काठमाडौं । मुलुक राजनीतिक रुपमा अन्यौलग्रस्त बनिरहँदा सेयर बजारले भने अहिलेसम्मकै रेकर्ड ब्रेक गर्दै २८२० अंकको विन्दुमा पुगेको छ । आम लगानीकर्ताको अनुमान जस्तै राजनैतिक अन्यौलताका बीच साताको पहिलो कारोबार दिन आइतबार सुरुवातमा ओरालो क्रममा लागेको नेप्से एकाएक नयाँ रेकर्ड कायम गर्दै बन्द भएको छ । यस दिनको कारोबार रकम पनि अहिले सम्मको दोस्रो ठूलो रेकर्डमा पुगको छ ।

आइतबार नेप्से परिसूचक ३२.८१ अंक बढेर २८२० विन्दुमा बन्द भएको छ । जुन अहिलेसम्मकै उच्च विन्दु हो भने यस दिन हालसम्मकै उच्च रकम बराबरको शेयर खरिदबिक्री भएको छ । यस दिन २२० कम्पनीको एक लाख २६ हजार १२४ पटकको कारोबारमा ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ रुपियाँ बराबरको दुई करोड ५१ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आइतबारको बजारमा ४१ करोड ८६ लाख रुपियाँ बराबरको कारोबार भएर नेपाल पुनर्बीमा कम्पनीको शीर्ष कारोबार भएको छ । नेशनल लाइफको पनि विगत केही दिनयता उच्च कारोबार हुँदै आएको छ । दोस्रो ठूलो कारोबार भएको कम्पनीको ३७ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको हो । ज्योति विकास बैंक, मेगाा बैंक, गरिमा विकास बैंक अरुण भ्याली हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्टको २० करोड माथि कारोबार भएको आइतबारको बजारमा निफ्रा, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंकको पनि १९ करोडको कारोबार भयो ।

आइतबार डेढ दर्जन कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । नेप्सेले नयाँ उचाइ कायम गरेसँगै १६ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो । जसमा अधिकांश विकास बैंक, फाइनान्स र जलविद्युत कम्पनीहरु छन् ।



आइतबार कर्णाली डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, युनाइटेड इदीमार्दी एण्ड हाइड्रोपावर, कालिका पावर, बेष्ट फाइनान्स, गुडविल फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर, सिनर्जी पावर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, आइसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शेयरमूल्य ९.६९ प्रतिशतभन्दा बढीले बढेको हो ।

मञ्जुश्री फाइनान्स, नारायाणी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, मल्टिपर्पस फाइनान्स, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, रिलायन्स फाइनान्स र कामना सेवा विकास बैंकको शेयरमा लगानी गरेकाले पनि आइतबारको बजारबाट ८ प्रतिशत बढीले नाफा आर्जन गरेका छन् ।

नेप्से सूचकले नयाँ रेकर्ड कायम गरेको दिनमा पनि रुरु जलविद्युत परियोजनाको मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको मूल्य ३ दशमलव ७३ प्रतिशतले घटेर एक हजार ८३ रुपियाँमा झरेको हो ।

यसैगरी समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य तीन दशमलव ६८ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर दुई दशमलव ५६, गुराँस लघुवित्त वित्तीय संस्थाको दुई दशमलव ३७, आरम्भ चौतारी लघुवित्त दुई दशमलव १७, नेपाल इन्भेष्टमेन्ट डिबेन्चर एक दशमलव ९३, सोल्टी होटल एक दशमलव ८३, कालिका लघुवित्त एक दशमलव ६५, यूनिलिभर नेपाल लिमिटेड एक दशमलव ६३, तारागाउँ रिजेन्सी होटल एक दशमलव ५१ र लक्ष्मी लघुवित्त वित्तीय संस्था एक दशमलव ४७ प्रतिशतले घटेको हो ।

आइतबार नेप्सेले नयाँ उचाइ कायम गरेसँगै १६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सर्किट लेभलमा कारोबार हुनेमा विकास बैंक, फाइनान्स र जलविद्युत कम्पनीहरु रहेका छन् । कर्णाली डेभलपमेन्ट बैंक, ग्रीड डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंक, युनाइटेड इदी मार्दी, कालिका पावर, बेष्ट फाइनान्स, गुडविल फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर, सिनर्जी पावर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, आइसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।



आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने बाँकी तीन उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ७.५४ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन फाइनान्स उपसमूहको परिसूचक ६.७६ प्रतिशत बढेको छ । बैंकिङ तथा जलविद्युत उपसमूहको परिसूचक यस दिन एक प्रतिशतभन्दा बढी बढेको छ ।


SHARE THIS