नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले बृद्धि भई ११ खर्ब ११ अर्ब ४० करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आयात ७.५ प्रतिशतले घटेको थियो । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।
चालु आर्थिक वर्षको नौ महिना अर्थात चैतसम्ममा चालु खाता दुई खर्ब सात अर्ब ४१ करोड रुपियाँले घाटामा रहेको छ । गत आवको सोही अवधिमा चालु खाता एक खर्ब २६ अर्ब नौ करोडले घाटामा रहेको थियो ।
चालु आर्थिक वर्षको फागुनसम्ममा चालु खाता एक खर्ब ४८ अर्ब ६८ करोड रुपियाँले मात्र घाटामा रहेको थियो । वैदेंशिक व्यापार बढेपछि चालु खाता घाटा बढेको हो । रेमिट्यान्स आप्रवाहमा आएको सुधारले शोधनान्तर स्थिति बचतमा देखिएपनि उच्च आयातका कारण चालु खाता घाटा बढेको हो ।
चालु आवको चैतसम्ममा पूँजीगत ट्रान्सफर १०.७ प्रतिशतले बृद्धि भई १२ अर्ब ८६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २५.० प्रतिशतले कमी आई १२ अर्ब ३५ करोड रुपियाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ११ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ४८ करोड रुपियाँ रहेको थियो ।
चालु आवको चैतसम्ममा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा रहेको छ । गत आवको अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको छ ।