बैंकर्स संघले भन्यो ५० हजारभन्दा कम निक्षेप रकम बैंकमा जम्मा गर्न नआउनु

काठमाडौं । पछिल्ला दिनमा उच्च रुपमा बढेको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल बैंकर्स एसोसिएसनले पचास हजार रुपियाँभन्दा कम निक्षेप बैंकमा जम्मा गर्न नआउन आग्रह गरेको छ । अबदेखि बैंकमा ५० हजार रुपियाँभन्दा कम जम्मा गर्न नपाइने भएको छ। नेपाल बैंकर्स एसोसिएसनले बैंकहरुमा भीडभाड तथा कोभिडको जोखिम कम गर्न निशेधाज्ञा अवधिभर ५० हजार रुपियाँभन्दा माथि मात्रै जम्मा गर्न सकिने व्यवस्था गरेको हो।

नेपाल सरकारले अत्यावशक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आह्वानलाई मध्यनजर गर्दै सम्पूर्ण ग्राहकमा डिजिटल बैंकिङ्गको प्रयोग गर्न एसोसिएसनले आग्रह गरेको छ। डिजिटल बैंकिङ्ग प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेल मार्फत सम्पर्क गर्न सकिने व्यवस्था समेत रहेको छ।

बैंकहरुका सबै एटीएम खुला रहनुका साथै बैंकका कल सेन्टरहरु समेत कार्यालय समय भर उपलब्ध हुने संघले जनाएको छ। बैंकमा भीडभाड कम गर्न बैंकहरुले निशेधाज्ञा अवधिभर खाताबाट नगद झिक्ने, खातामा नगद जम्मा गर्ने ५० हजार रुपियाँ भन्दा माथि मात्रै रकम स्थानान्तरण, रेमिट्यान्स भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार सेवा उपलब्ध गराउने एसोसिएसनले जनाएको छ।

यी बाहेक अन्य केही जरुरी भएमा बैंक शाखाका सम्पर्क व्यक्तिहरुको विवरण शाखा कार्यालय तथा बैंकको वेबसाइटमा समेत उपलब्ध हुने बैंकर्स एसोसिएसनले जनाएको छ।


SHARE THIS