नौ महिनामा भित्रियो सात खर्ब २९ अर्बभन्दा बढी रेमिट्यान्स

काठमाडौं । उच्च गतिमा बढ्दै गएको कोरोना संक्रमणले मुलुकका सबै क्षेत्र प्रभावित बनिरहेका बेला रेमिट्यान्स आप्रवाह भने निरन्तर उच्च बृद्घितर्फ लागेको छ । चालु आर्थिक वर्षको नौ महिनामा सात खर्ब २९ अर्ब रुपियाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । कोरोना संक्रमण शुरु भएयता वैदेशिक रोजगारीमा जानेको सँख्या घटेपनि रेमिट्यान्स भने बढ्दो क्रममा छ ।

नेपाल राष्ट्र बैंकका अनुसार समिक्षा अवधिमा सात खर्ब २९ अर्ब दुई करोड रेमिट्यान्स भित्रिएको छ । जुन गत वर्षको तुलनामा १६.५ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४.२ प्रतिशतले घटेको थियो ।

सोही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.२ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५५.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १५.० प्रतिशतले घटेको थियो ।

त्यस्तै समीक्षा अवधिमा खुद ट्रान्सफर १४.४ प्रतिशतले बृद्धि भई ८१४ अर्ब ३६ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.७ प्रतिशतले घटेको थियो ।


SHARE THIS